शुक्रबार ०८ आश्विन २०७८

गण्डकी प्रदेश सांसद दीपक मनाङेले साना दलको नेतृत्वमा सरकार बन्नुपर्ने बताएका छन्।

मुख्यमन्त्री बन्नका लागि आफू तयार रहेको बताउँदै उनले सरकार चलाउने कुरा ठूलो नभएको बताए।

‘म स्वतन्त्र भइहालें, जसपा र जनमोर्चासँग कुरा गरेको छु,’ उनले भने, ‘तपाईं हामी मिलेर सरकारमा जाऊँ, मुख्यमन्त्री हामी मागौं।

ठूलो कुरा छैन चलाउन। हामीसँग आइडिया छँदैछ। प्रदेश चलाउने कुरा गाह्रो छैन भनेको छु।’

गण्डकी प्रदेशमा सरकार परिवर्तन गर्न विपक्षी दलहरूको दौडधुप छ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी सरकार फेर्न लागिपरेको छ। नयाँ सरकार गठन गर्न विपक्षी गठबन्धनलाई राष्ट्रिय जनमोर्चाको निर्णय निर्णायक हुन्छ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको सरकारलाई अहिले माओवादी केन्द्र र जनमोर्चाको समर्थन छ।

माओवादी केन्द्रबाट सरकारमा सहभागी भएका दुई जना मन्त्रीले राजीनामा दिएसँगै उक्त दलले जुनसुकै बेला समर्थन फिर्ता लिने जनाएको छ भने जनमोर्चाले पनि सरकारको साथ छाड्ने तयारी गरेको देखिन्छ।

नयाँ सरकार गठनका लागि विपक्षी दलहरूले माहौल तताइरहँदा गण्डकी प्रदेशसभामा उपस्थित एक मात्र स्वतन्त्र सांसद दीपक मनाङे (राजीव गुरूङ) पनि मुख्यमन्त्री बन्ने दौडमा सहभागी भएका हुन्।

 


Last Updated on: April 15th, 2021 at 9:46 pm
३२९ पटक हेरिएको

तपाईको प्रतिक्रिया