शुक्रबार ०८ आश्विन २०७८

काठमाडौं

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपालहरुको समूहसँग असन्तुष्ट भएको जनाउ दिनुभएको छ ।

पुनस्र्थापित माओवादी केन्द्रीय समितिको पहिलो बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले अरुको भर पर्दा समस्यामा फस्नुपरेको बताउनुभएको छ ।

‘अब अरुको भर नपर्ने, माओवादी आन्दोलनले सिर्जना गरेको शक्तिसँग मात्र भर पर्ने’– प्रचण्डले भन्नुभयो । माधव नेपाल समूहको नाम नलिई प्रचण्डले भन्नुभयो– ‘माओवादी पहिले जस्तो थियो, अहिले पनि त्यस्तै छ, केही फरक परेको छैन । हामी जसको भर परेका थियौं उहाँहरुले खुट्टा टेक्नुभएन ।’

माओवादी केन्द्र र एमाले छुट्टिँदा एमालेलाई ठूलो क्षति भएको तर माओवादीलाई कुनै क्षति नभएको प्रचण्डको भनाई थियो । उहाँले भन्नुभयो– ‘सत्रुको कित्तामा ठूलो क्षति पुराएर सकुशल फर्कन सफल भएका छौं ।’

बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए अनुसार प्रचण्डले एमालेसँगको एकीकरणदेखि अहिलेसम्मको अवस्था बारे संक्षिप्त व्याख्या गर्नभुएको थियो । मुलुकमा प्रतिगामीहरु हावी भएको, माओवादीलाई समाप्त पार्न खोजिएको दावी गर्नुभएको छ ।

माओवादी आन्दोलनले आफूलाई सर्वाेच्च नेताका रुपमा स्थापित गरेको, सर्वाेच्च नेतालाई नै प्रतिक्रियावादीहरुले सिध्याउन खोजेको प्रचण्डको भनाई थियो ।

बैठकलाई सम्बोधन गर्दै प्रचण्डले निरास नहुन आग्रह गर्नुभएको ती केन्द्रीय सदस्यले जानकारी दिए । विगतमा ठूलो केन्द्रीय समिति बनाउँदा अरुलाई पार्टी विभाजन गर्न सजिलो भएको बताउँदै भन्नुभयो– ‘चार हजारजनाको केन्द्रीय समिति बनायौं, तीमध्ये केहीलाई समातेर नयाँ पार्टी बनाए, माओवादी फुट्यो भनेर प्रचार गरे ।

त्यसैले अब सानो केन्द्रीय समिति बनाउँछौं । केन्द्रीय समितिको आकार अब धेरै बढ्दैन ।’ तर, चाँडै केही केन्द्रीय सदस्य थप गरिने पनि प्रचण्डले बैठकमा जानकारी दिनुभएकाे थियाे ।

बैठकमा प्रचण्डले सत्ता समीकरणबारे धेरै बोल्नुभएन । नयाँ समीकरण निर्माण गर्न विभिन्न पक्षसँग वार्ता भइरहेको उहाँको भनाई थियो ।

एमालेसँग पुन एकीकरण हुने सम्भावना क्षीण भएको टिप्पणी गर्दै प्रचण्डले ‘माधवजीहरुले कति दह्रो खुट्टा टेक्नुहुन्छ भन्नेले धेरै कुराको निर्धारण गर्छ’ भन्नुभयो ।

बैठकमा विभिन्न प्रदेशका नेताहरुले आआफ्नो प्रदेशको सांगठानिक अवस्थाका बारे बैठकमा रिपोर्टिङ गरेका थिए ।

 


Last Updated on: March 14th, 2021 at 10:14 pm
३४० पटक हेरिएको

तपाईको प्रतिक्रिया