आइतबार १० आश्विन २०७८

काठमाडौं ।

सत्तारुढ गठबन्धनमा सम्वद्ध नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र

जनता समाजवादी पार्टी (जसपा) बीच मन्त्रालयको संख्यात्मक भागबण्डा मिलेको छ ।

एमालेबाट औपचारिकरुपमा बाहिरिएका माधव नेपालले बुधबार नयाँ दल दर्ता गराएपछि एकीकृत समाजवादीलाई सरकारमा जाने बाटो खुलेको छ ।

गठबन्धन दलबीच भएको सहमति अनुसार नेकपा एमाले विभाजन भई माधव नेपालको नेतृत्वमा गठित एकीकृत समाजवादीले ५ मन्त्री र एक राज्य मन्त्री पाउने भएको छ ।

माधव नेपाललाई स्थान दिँदा काँग्रेसले ३,  माओवादीले २ र  जसपाले १ मन्त्री गुमाउनुपर्नेछ ।

किनभने, नेपाल पक्ष सरकारमा सहभागी नभएको अवस्थामा काँग्रेसले प्रधानमन्त्रीसहित ९ मन्त्री र १ राज्य मन्त्री पाउने सहमति भएको थियो ।

यस्तै माओवादीले सात मन्त्री र एक राज्यमन्त्री तथा जसपाले ६ मन्त्री र एक राज्यमन्त्री पाउने गठबन्धनमा सहमति जुटेको थियो ।

२५ सदस्यीय मन्त्रीमण्डलमा नयाँ सहमति अनुसार काँग्रेसबाट प्रधानमन्त्रीसहित ७ जना सरकारमा सहभागी हुने अवस्था छ ।

यस्तै माओवादी, एकीकृत समाजवादी र जसपाले ५–५ मन्त्री र १–१ राज्यमन्त्री पाउने सहमति भएको स्रोतले रातोपाटीलाई जानकारी दियो ।

माधव नेपाल समूहले नयाँ पार्टी बनाएर सरकारमा सहभागी हुने भएपछि विगतमा काँग्रेस, माओवादी र जसपाबीच भएको भागबण्डामा हेरफेर भएको छ ।

एमालेमा तत्कालीन माधव नेपाल समूहले पार्टी एकता हुँदा सरकारमा सहभागी हुने अवस्था थिएन ।

माधव नेपाल एमालेमै रहेको अवस्थामा उनलाई राजनीतिक नियुक्तिमा प्रमुख प्राथमिकता दिएर गठबन्धनलाई लगाएको गुन तिर्ने सरकारको तयारी थियो ।


Last Updated on: August 26th, 2021 at 8:30 pm
१८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया