आइतबार ०३ आश्विन २०७८

काठमाडौं ।

निवर्तमान प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले फुटेर नेता माधवकुमार नेपालको नेतृत्वमा नेकपा एमाले समाजवादी गठन भएपछि पार्टीमा तरङ्ग छ ।

पार्टी दर्ता भएको २१ दिनभित्र अरु नेताहरूले समेत एमाले छाडेर समाजवादीतिर जान सकिने विकल्प रहेकै बेला पार्टी विभाजनको भोलिपल्टै एमालेका ठूलै नेताले पार्टी परित्यागको घोषणा गरेका छन् ।

उपाध्यक्ष बामदेव गौतमले एमाले छाडेर नेकपा एमाले समाजवादी पार्टीमा जाने घोषणा गरेका हुन् ।

बिहीबार गौतमले आफू पक्षका नेता कार्यकर्तासँगको छलफलपछि समाजवादी पार्टीमा जाने घोषणा गरेका छन् ।

गौतमले भर्चुअल बैठकमा भने, ‘म माधव नेपालतिर जान्छु । माधव नेपालले मलाई एमाले र बामपन्थी एकताको जिम्मा दिनुहुन्छ ।’

आफू विगतमा एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्षमा गएपनि ओलीले पार्टी एकताको जिम्मेवारी नदिएको गुनासो नेता गौतमले गरे ।

‘केपी ओलीलाई म एकता गर्छु जिम्मा दिनुहोस् भन्दा दिनुभएन ।

माधव नेपालले एकताको जिम्मा दिनुहुन्छ, त्यसैले उहाँतिर जान्छु,’ गौतमले भने ।

नेता गौतमले आफू माधव नेपालको पक्षमा रहेर एकताका लागि काम गर्ने र एक–डेढ वर्षभित्र एमाले हुँदै सम्पूर्ण वामपन्थीबीच पार्टी एकता गर्ने दाबी गरेका छन् ।

नेता गौतमले अध्यक्ष ओलीलाई सुधार्न नसकिने दाबी समेत गरे ।

‘केपी ओलीलाई पराजित गरेपछि मात्र सुधार्न सकिन्छ,’ उनले भने, ‘अब हामीले विद्रोह गर्ने हो ।’

यसअघि नयाँ दल दर्ताका क्रममा नेता गौतम देखिएका थिएनन् भने केन्द्रीय कमिटीमा समेत परेका थिएनन् ।

तर बिहीबार उनले आफूपक्षीय नेतासँग छलफल गरेर नेपालको पक्षमा लाग्ने घोषणा गरेका छन् ।

 


Last Updated on: August 24th, 2021 at 6:07 pm
२०१ पटक हेरिएको

तपाईको प्रतिक्रिया