आइतबार १० आश्विन २०७८

काठमाडौं –

नामको विवादमा परेको एउटा सानो मुद्दालाई टेकेर सर्वोच्च अदालतले नेकपा एमालेलाई ब्युँताएसँगै पार्टीभित्र सुरु भएको समानान्तर गतिविधि थामिने नामोनिसान छैन ।

औपचारिक रुपमा २०७७ फागुन २८ पछि नेकपा एमाले भित्र समानान्तर गतिविधि सुरु भयो।

र, एक अर्को बिनाको पार्टीको परिकल्पनामा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल लागि नै रहे।

किचलो पार्टीमा मात्रै सीमित रहेन। पार्टी भित्रको विवाद अदालतसम्मै पुग्यो र ओली बहिर्गमनमा परे।

माधव नेपाल पक्षका कर्णाली प्रदेशका ४ सांसदको पद गुम्यो।

ओली समूहले प्रदेश सरकारको नेतृत्वबाट पनि लगातार हात धोइरहने अवस्था आइलाग्यो।

ओली निकट नेता पृथ्वी सुब्बा गुरुङ गण्डकी प्रदेशको मुख्यमन्त्रीबाट बाहिरिएका थिए भने लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल पदबाट राजीनामा दिन बाध्य भए।

एमाले किचलोले पार्टी विभाजनकै डिलैमा पुगे पनि ओली-नेपालले तत्काल राजनीतिक पारपाचुकेुको निर्णय गरिसकेका छैनन्।

विवादले अहिलेको रुप लिनुअघि बेलाबेलामा ओली र नेपाल बिच वान अन वानु भेटवार्ताका श्रृङ्खलाहरु पनि चले।

नेपाल बाहेकलाई एमालेमा स्वागत!

अर्कातिर ओलीले पार्टी संगठनका गतिविधिलाई तीब्रता दिएका छन् । विधान संशोधनदेखि भदौ २७ र २८ गते हुने

विधान महाधिवेशनको तयारीका काम तीब्र गतिमा भइरहेको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।

एकताका लागि वार्ता भइरहेको भन्दै नेपाल पक्षले पार्टी संगठनका कामलाई तत्काल बन्द गर्न ओलीलाई अनुरोध गरेको थियो।

तर, ओली पक्षले नेपाल पक्षका अनुरोधमा पार्टी बन्धक बन्न नहुने भन्दै धमाधम निर्णय गरेको हो।

‘पार्टीमा फर्कने नेताहरुलाई जो जुन जिम्मेवारीमा हुनुहुन्छ त्यही जिम्मेवारीमा फर्कने बित्तिकै स्वागत हुन्छ।

तर, पार्टीलाई चलायमान बनाउन संगठनका काम भइरहन्छन् अब रोकिँदैनन्,’ उनले भने।

ओलीले यसअघि पनि नेपाल बाहेकका नेताहरुलाई एमालेमा स्वागत गरिने बताएका थिए।

असार ३० गते प्रधानमन्त्री निवास बालुवाटारबाट बालकोट फर्कदा पनि ओलीले नेपाललाई पार्टीमा

ठाउँ नभए पनि बाँकी नेताहरुलाई भने आत्मालोचना गरेर काममा फर्कने अवसर दिने उद्घोष गरेका थिए।

ओलीसँग दुरी, वैद्य र विप्लवसँग वार्ता

ओलीसँगको सम्बन्धमा दरार आएसँगै नेता नेपालले कम्युनिष्ट नेताहरुसँगको संवादलाई तीब्रता दिएका छन्।

सके पार्टी एकता, नभए मोर्चा बनाउने उद्देश्यका साथ लगातार संवाद भइरहेको नेपाल निकट नेताले बताए।

उनले चुनावसम्मै कायम रहनेगरी मोर्चा बनाउने तयारी भएको जानकारी दिए। त्यसका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द, नेकपा (क्रान्तिकारी) माओवादीका अध्यक्ष मोहन वैद्य, जनता समाजवादी पार्टी नेपाल

(जसपा)का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायतका नेतासँग नेपाल समूहले लगातार संवाद गरिरहेको छ।

नेपाल निकट नेता खतिवडाले आफ्नो समूहले सबै राजनीतिक दलसँगको संवादलाई तीब्र पारेको र मोर्चाबन्दीका लागि संवाद भइरहेको बताए।

‘सबैसँग अहिले संवाद भइरहेको छ। विप्लव, वैद्य लगायतका सबै जनासँग वार्ता त लगातार भइरहेकै छ। हामी सबैसँग वार्ता गर्ने भनेर सार्वजनिक रुपमा भनेकै छौं,’ उनले भने।


Last Updated on: August 15th, 2021 at 6:01 pm
८१ पटक हेरिएको

तपाईको प्रतिक्रिया