आइतबार ०३ आश्विन २०७८

काठमाडौं –

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकट केन्द्रीय कमिटी बैठक केहीबेर स्थगन गरिएको छ ।

७० भन्दा धेरै सदस्यहरु सहभागि भएको उक्त भेलामा ५५ जना भन्दा धेरैले राय तथा सुझाव दिएको बताइएको छ ।

बैठकमा पार्टी एकताको लागि अध्यक्ष केपी शर्मा ओलीलाई ४८ घण्टाको अल्टिमेटम दिने निर्णय भएको बताइएको छ ।

एक सदस्यका अनुसार ओलीलाई साउन २४ गते सम्मको अल्टिमेटम दिने र

ओलीले यो समयमा एकताको लागि पहल नगरे नयाँ पार्टी गठनको प्रक्रियामा लाग्ने निर्णय भएको बताए ।

बैठकमा नेताहरुलाई सुझाव दिन तीन मिनेटको समय निर्धारण गरिएको थियो ।

केन्द्रीय समितिका नेताहरुले सुझाव दिएपछि अहिले स्थायी कमिटि बैठक बसेर नेताहरुले छलफल गरिरहेका छन् ।

बैठकमा केन्द्रीय सदस्यहरुमा नेताहरुले सम्मानजनक एकता हुनुपर्ने बताएका थिए ।

अन्यथा विद्राह गर्न या नयाँ पार्टी गठन गर्न उनीहरुको सुझाव छ ।

दशबुँदे सहमतिले एकताको आधार तयार पारे पनि त्यसपछिका

निर्णयहरुले एकता बिथोल्ने काम भएको नेताहरुले बताएका थिए ।

विशेष गरी ओलीले एक्लौटी बैठक राखेर निर्णय गर्ने, गम्भीर आरोप लगाएर सार्वजनिक

अभिव्यक्ति दिने क्रम नरोकिँदा इमान्दार एकताको पक्षमा नरहेको पुष्टि हुने नेताहरुको भनाइ थियो ।

‘मूल कुरा सम्मानजनक एकता हो । तर एकताको प्रयास कहिलेसम्म भन्ने पनि हुन्छ,’ केन्द्रीय सदस्य निरज आचार्यले भने ।

एकता वार्तालाई अब धेरै लम्ब्याउन नहुने सुझाव नेताहरुले दिएको उनले बताए ।

यस्तै केन्द्रीय सदस्य मेटमणी चौधरीले बैठकमा पार्टी एकताको विषयमा

छलफल भए पनि केपी ओलीले आफ्ना गल्तीप्रति क्षमायाचना गरेमात्र त्यसतर्फ सोच्न सकिने बताए ।

उनले सरकारमा जानुपर्ने विषयमा नै धेरै सदस्यहरूको एकमत रहेको बताए ।

ओलीलाई हटाउन नसके र उनी नसुध्रिए अर्को पार्टी बनाएर जानुपर्ने कुरा बैठकमा उठेको चौधरीले बताए ।

स्थायी समिति बैठकपछि केन्द्रीय समिति बैठकको सामूहिक धारणा दिने बताइएको छ ।

माधव समूहका केन्द्रीय सदस्यहरूको निष्कर्ष : १० बुँदे सहमतिको प्रस्ताव अपूर्ण, ओलीसँग एकता प्रायः असम्भव !

नेकपा एमालेको माधव नेपाल समूहका केन्द्रीय सदस्यहरूले पार्टी

अध्यक्ष केपी ओलीसँग एकताको सम्भावना क्षीण हुँदै गएको निष्कर्ष निकालेका छन् ।

शुक्रबार बैठकमा धारणा राख्ने अधिकांश केन्द्रीय सदस्यहरूले

केपी ओली एकताको पक्षमा नरहेको र झुट मात्र बोलिरहेको निष्कर्ष निकालेका हुन् ।

काठमाडौँको बुद्धनगरमा बिहीबारदेखि सुरु भएको बैठकमा पहिलो दिन २३ र

दोस्रो दिन ३२ जना गरी जम्मा ५५ जनाले पार्टी एकताबारे धारणा राखेका छन् ।

‘केपी ओलीसँग एकता हुन प्रायः सम्भव छैन भन्ने केन्द्रीय सदस्यहरूको धारणा रह्यो ।

यो सबै केपी ओलीले झुटो बोलिरहेका छन् । उनी एकताको पक्षमा छैनन् ।

यसको भ्रममा नपरौँ भन्ने एकथरी केन्द्रीय सदस्यहरुको भनाइ थियो,’ बैठकबारे जानकारी दिँदै नेता जगन्नाथ खतिवडाले भने ।

खतिवडाका अनुसार सबै केन्द्रीय सदस्यहरूले मूलत: तीन वटा विषयलाई प्राथमिकता दिएका थिए ।

पहिलो, एकता भए सम्मानजनक र सह अस्तित्वका आधारमा हुनुपर्ने साथै आफ्नो पक्षले पनि जितेको देखिने गरी एकता हुनुपर्ने ।

दोस्रो, केपी ओलीसँग एकता हुन प्रायः सम्भव छैन । र, तेस्रो कार्यदलले गरेको मिहिनेत अपुरो छ ।

१० बुँदे सहमतिले आफूहरूको आकाङ्क्षा र एकतालाई विकसित गर्दैन ।

यसलाई पूर्ण बनाएर समग्रमा सम्झौता गर्नुपर्छ नत्र पुरानै दलदलमा फस्ने मात्र देखिन्छ ।

‘कार्यदलका साथीहरूलाई १० बुँदा भित्र एमालेको सम्पूर्ण जीवन अटाएको भन्ने लागेको छ । त्यहाँभित्र न्याय छ, समानता छ ।

त्यहाँ सबैको राजनीतिक अस्तित्व र हैसियत छ भन्ने वहाँहरुलाई लागेको छ ।

तर दु:खको कुरा अरू केन्द्रीय सदस्य कसैलाई पनि त्यस्तो लागेको छैन,’ खतिवडाले भने ।

कार्यदलका सदस्यहरूले आगामी २४ गतेसम्म केही प्रगति हुने बताएकाले आफूहरूले त्यसलाई पर्खने पनि उनले जानकारी दिए ।

‘हामीले २४ गते सम्मको डेडलाइन दिएका होइनौँ । २४ गते केपी ओलीले आफ्नो बैठक बोलाउनुभएको छ ।

वार्ता दलका साथीहरूले निश्चय केही नै प्रगति हुन्छ भन्नुभएको छ । त्यति बेलासम्म हेरौँ भन्ने कुरा उठेको हो ।

खतिवडाले अहिले आफूहरूको जोड अहिले सरकारभन्दा पार्टीको एकतामा नै रहेको पनि बताए ।

‘केपी ओलीको स्वेच्छाचारी अडानलाई सरकारमा झारेर अन्त्य गरेका छौँ ।

अब दक्षिणपन्थी विसर्जनवादलाई पार्टीभित्र अन्तर पार्टी सङ्घर्ष गर्नुपर्छ ।

हामीले यसका लागि खुट्टा टेक्ने ठाउँ पायौँ, समानताको आधारमा पार्टीमा गयौँ भने हामी ओलीलाई नियन्त्रण गर्न र

पार्टीलाई असल कम्युनिस्ट पार्टी बनाउन सक्छौँ भन्नेछ,’ उनले भने, ‘तर टेक्ने ठाउँ नदिइ

हामीलाई तल पारेर ल्याउने ओलीको इरादा प्रति हामी सतर्क छौँ ।’

यता, नेता सोमप्रसाद​ पाण्डेले आफ्नो समूहले नयाँ पार्टी खोल्ने सम्भावना नरहेको बताएका छन् ।

‘पार्टी विभाजनको तयारी पनि छैन, र नयाँ पार्टी खोल्ने अवस्था पनि छैन ।

हामीले एकताकै पक्षमा छलफल गरेका छौ’, केन्द्रीय समिति बैठकपछि नेता पाण्डेले भने,

‘अहिले पार्टीमा दुईवटा ग्रुप भएको सत्य हो, दुरी पनि धेरै टाढा पुगेको हो तर पार्टी खोल्ने र नयाँ दर्ता गर्ने अवस्था छैन ।’

उनले बैठकमा सरकारमा जाने नजानेबारे प्रश्नहरू उठे पनि तत्काल आफ्नो समूह सरकारमा जान कानुनी समस्या रहेको बताए ।


Last Updated on: August 9th, 2021 at 6:55 pm
५०२ पटक हेरिएको

तपाईको प्रतिक्रिया