आइतबार ०३ आश्विन २०७८

काठमाडौं ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री

शेरबहादुर देउवालाई एमालेका कम्तीमा ३३ सांसदले विश्वासकाे मत दिने दाबी गरेका छन्।

सत्तारुढ गठबन्धनकाे शनिबार साँझ बसेकाे बैठकमा वरिष्ठ नेता नेपालले अदालतमा हस्ताक्षर बुझाउने

२३ जना सांसद मध्ये केहीले साथ छाडे पनि याे संख्या बढाएर ३३ पुर्‍याउने आश्वासन दिएका हुन्।

ओली समूहमा रहेका १० सांसदहरु कित्ता फेरेर आफ्नाे पक्षमा उभिने दाबी नेता नेपालकाे छ।

‘भीम रावलसहितका केही सांसदकाे भर छैन। तर तपाईँहरु ढुक्क हुनुहाेस् कि विश्वासकाे मत

लिँदासम्म म एमालेका १० जना सांसद थप्छु’ बैठकमा माधव नेपालले भनेकाे श्राेतले बतायाे।

शनिबार राति बसेकाे गठबन्धनकाे बैठकमा प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष प्रचण्ड,

वरिष्ठ नेता नेपालसहित कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का सहभागी थिए।

बैठककाे स्थान भने गाेप्य राखिएकाे छ।

आज अपराह्न ४ बजे बस्ने बैठकमा प्रधानमन्त्री देउवाले विश्वासकाे मत लिँदै छन्।

विश्वासको मत जित्ने लगभग पक्का भएपछि प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने भएका हुन्।

अपरान्ह ४ बजे बस्ने बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश हुने कांग्रेस सचेतक पुष्पा भुषालले जानकारी दिइन्।

देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने दाबीसहित राष्ट्रपति कार्यालयमा

१४९ जना सांसदले हस्ताक्षर पेश गरेका थिए भने सर्वाेच्च अदालतमा दायर भएको रिटमा १४६ जना सांसदले हस्ताक्षर बुझाएका थिए।

गएको असार २८ गते सर्वाेच्चको आदेशबाट संसद पुनःस्थापना भइ सोही

आदेश अनुसार देउवाले असार २९ गते मंगलबार प्रधानमन्त्रीको शपथ लिएका थिए।

संवैधानिक व्यवस्था अनुसार देउवाले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ।

धारा ७६ को ५ अनुसार प्रधानमन्त्री बनेका देउवालाई विश्वासको मतका लागि १३६ सांसदको समर्थन चाहिन्छ।

एमालेकाे माधवकुमार नेपाल समूह बाहेक देउवासँग कांग्रेसका ६१,

माओवादीका सभामुख बाहेक ४८, जसपाका १२ र जनमाेर्चाका १ गरी १२२ जना सांसदकाे साथ प्रष्ट छ।

त्यसमा जसपाकाे उपेन्द्र यादव समूहमा ६ जना सांसद थपिएकाे दाबी गरिएकाे छ।

यसाे भएपछि देउवाकाे समर्थनमा माधवकुमार नेपाल समूह बाहेकका १२८ सांसदकाे समर्थन जुट्छ।

अपुग संख्या माधव समूहले पूर्ति गर्ने पक्का भएपछि देउवाले आजै विश्वासकाे मत लिने निर्णय लिएकाे श्राेतले जनाएकाे छ।

धारा ७६ काे उपधारा ५ बमाेजिमकाे सरकार गठनका लागि

सांसदहरु स्वतन्त्र हुने भएकाले दलीय ह्वीप नलाग्ने व्याख्या सर्वाेच्चले गरिसकेकाे छ।

मतदानकै आधारमा सांसदहरुलाई कारबाही गर्न नमिल्ने पनि सर्वाेच्चकाे फैसलामा उल्लेख छ।

आज ४ बजे बस्ने पहिलाे बैठकमा संसद अधिवेशन सम्बन्धी राष्ट्रपतिकाे पत्र पढेर सुनाइने छ।

त्यसपछि दलका तर्फबाट नेताहरुले बाेल्न चाहेमा समय दिने तयारी सभामुखले गरेका छन्।

त्यसपछि पहिलाे बैठक सकिने र लगत्तै दाेस्राे बैठक सुरु हुने छ। दाेस्राे बैठकमा देउवाले विश्वासकाे मत लिने छन्।

विश्वासको मत जितेको अवस्थामा देउवा नेतृत्वको सरकारले डेढ वर्ष सरकार चलाउने छ र चुनाव गर्ने छ।

विश्वासको मत नपाएमा संसद विघटन भइ देउवा नेतृत्वको चुनावी सरकारले आउँदो माघसम्ममा चुनाव गराउनु पर्ने संवैधानिक जिम्मेवारी पाउने छ।

यदि विश्वासकाे मत नजिते देउवा नेतृत्वकाे चुनावी सरकार पाँच सदस्यीय मात्रै हुने छ।

किनभने चुनावी सरकारले मन्त्रीमण्डल बिस्तार गर्न नपाउने संवैधानिक व्यवस्था छ।

 


Last Updated on: July 19th, 2021 at 9:00 pm
७० पटक हेरिएको

तपाईको प्रतिक्रिया