आइतबार १० आश्विन २०७८

काठमाडौं ।

नेकपा एमाले फुटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत

लिन लागेको माधवकुमार नेपाल समूहकै नेताहरुले बताएका छन् ।

कार्यदल सदस्यसमेत रहेका एमाले नेता भीम आचार्यले आजै विश्वासको

मत लिनु भनेको नेकपा एमाले फुटाउने षडयन्त्रबाहेक केही नभएको बताए ।

माधवकुमार नेपाल समूहमा रहेका नेता आचार्यले छलफलपछि भने, “एक महिना समय थियो ।

आजै विश्वासको मत लिनुपर्ने कुनै कारण थिएन । विश्वासको मत लिने विषयमा पार्टीमा छलफल भएको छैन ।

हाम्रो टिममा पनि लफल भएको छैन । व्यक्तिगत ढंगले कसैले निर्णय गर्न सक्छन् ।

नेकपा एमाले विभाजित गर्न विश्वासको मत लिन लागिएको हो ।

सहमति भएमा एमालेले विश्वासको मत हाल्दैन । एक महिनाभित्र लिनुपर्ने भए पनि आजै किन हतार गरियो ?”

प्रधानमन्त्री देउवाले विश्वासको मत लिन जम्मा दुई सांसद अपुग !

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचौ पटक नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।

असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले विश्वासको मत लिन बाँकी छ ।

पहिलो पटक प्रधानमन्त्री भएका देउवा विश्वासको मत पाउन नसकेर पदच्युत भएका थिए ।

कुरा हो २०५३ फागुन २३ को मध्याह्नको । शंका, आशंका र अन्यौलबीच प्रधानमन्त्री शेरबहादुर देउवा विश्‍वासको मत लिँदै थिए ।

उता देउवाको आफ्नै दल कांग्रेस ‘असन्तुष्टि’ले गुम्सिएको थियो ।

अनि गठबन्धन दल राष्ट्रिय प्रजातन्त्र पार्टी र सद्‌भावना पार्टीका सांसद पनि को–कता प्रस्तुत हुन्छन् भन्‍ने अन्यौलपूर्ण अवस्था छँदै थियो ।

यस्तै अन्यौलपूर्ण अवस्थाकै बीच संसद्‌मा मतदान हुँदै थियो ।

सभामुख रामचन्द्र पौडेलले मतदानका निम्ति सदन सुरु गर्दासम्म कांग्रेसका दुई सांसद हराएको ‘गाइँगुइँ’ चल्दै थियो, यकिन चाहिँ थिएन ।

दुई सांसद अनुपस्थित रहेमा देउवाका निम्ति १०३ मत पुग्‍ने स्थिति थिएन ।

ती दुई सांसद चक्रबहादुर शाही र दीपकजंग शाह संसद् परिसरमा देखिएनन् ।

देउवा ती दुई सांसद उपस्थित हुन्छन् भन्‍ने विश्‍वासमै बैठक सुरु भएको थियो ।

सदन सुरु भएसँगै आफूविरुद्ध सत्तारूढ र विपक्षी सांसदहरूले उठाएका सवालमा देउवाले जवाफ दिए ।

भने, ‘विश्‍वासको मत लिनुपर्ने संवैधानिक बाध्यता नहुँदा नहुँदै प्रजातान्त्रिक चरित्रको आधारशिला बलियो होस् भन्‍ने चाहेर प्रस्ताव राखेको हुँ ।’

देउवाको जवाफपछि मतदानका लागि पाँच मिनेट लामो घन्टी बज्यो ।

घन्टीसँगै क्यान्टिन, परिसर, संसदीय समितिमा भएका सांसदहरू भित्रिँदै थिए । एकै छिनमा भए भरका सांसद सदनभित्र प्रवेश गरे ।

घन्टीको आवाज सकिनासाथ सभामुखले ग्यालरी बैठकका ढोका बन्द गर्न निर्देशन दिए ।

ती ढोका बन्द भएपछि बाहिर रहेका सांसद भित्र प्रवेश गर्न पाउँदैन थिए भने भित्रका सांसद पनि बाहिर निस्कन मिल्दैनथ्यो ।

सद्‌भावना पार्टीका अध्यक्ष गजेन्द्रनारायण सिंह आपूर्ति मन्त्री थिए । उनी सत्तारूढ बेन्चमा आनन्दसाथ बसिरहेका थिए ।

मतदानको घन्टीपूर्व सिंहले आफ्ना पार्टीका सांसद हृदयेश त्रिपाठीसँग उभिँदै छोटो वार्ता गरेका थिए ।

त्यो वार्तापछि त्रिपाठी सदनबाट बाहिरिए । मन्त्री सिंह चाहिँ सत्तारूढ कुर्सीमै बस्‍न गएका थिए ।

उता सिंह पटक पटक पछाडि फर्कंदै सांसदका अनुहार हेर्दै थिए ।

त्यो स्वाभाविक पनि थियो कि सत्तापक्षतिर सांसद पुग्छन् कि पुग्दैनन् भन्‍ने आँकलन गर्नु मन्त्रीको दायित्व पनि हो ।

अनि लागेकै थियो, विश्‍वासको मत प्राप्त हुँदैन कि भन्‍ने चिन्तामा सांसद गनिरहेका होलान् ।

त्यतिखेर तीन सदस्यीय सद्‌भावना पार्टी सत्तारूढ थियो । यद्यपि उसले ह्वीप लगाएको थिएन ।

त्रिपाठी मतदान घन्टी बजेपछि सदनमा प्रवेश गरेनन् ।

ग्यालरी बैठकका ढोका लागेपछि सभामुखले मतदानका निम्ति ‘रुलिङ’ गरे ।

सत्तारूढ र विपक्षी दुवैतिरका सांसदहरू मतदानका निम्ति आप्mना लबीतिर जाँदै थिए ।

त्यहीबीचमा मन्त्रीको कुर्सीबाट मन्त्री गजेन्द्रनारायण सिंह एक्कासि उठे । र, भने, ‘म विश्‍वासको मतमा समर्थन गर्न सक्दिनँ ।’

धेरैलाई लाग्यो, त्यो त सिंहको ‘ठट्टा’ होला । सदनको ग्यालरी बैठक,

जहाँ सत्तारूढ बेन्च नजिकै पत्रकारको दीर्घा पनि जोडिएको थियो ।

पत्रकारको हाँसो ठट्टा सत्तारूढ बेन्चले देखिरहन्थ्यो भने सत्तारूढ दलका

मन्त्री सांसदका हरेक क्रियाकलाप संसदीय संवाददाताहरूले सहजै नियाल्ने नै भए ।

फेरि सिंहले कुर्सीबाट उठ्दै भने, ‘म मतदानमा भाग लिन्‍नँ ।’ त्यो वाक्यांशसँगै सत्तारूढ बेन्चमा हाँसो गुन्जियो ।

किनभने सत्तारूढ दललाई सिंहले त्यसरी ‘बहिष्कार’ गर्छन् भन्‍ने लागेकै थिएन ।

त्यसकारण सबैले उनको त्यो भनाइ ‘मजाक’ ठानेका थिए ।

सांसदहरू मतदान गरी गफिँदै फर्किंदै कुर्सीमा बस्‍न थाले ।

तर, सिंह कुर्सीमै बसिरहे । अर्थात् उनको त्यो अभिव्यक्ति ‘मजाक’ रहेनछ ।

सभामुख पौडेल पटक पटक भनिरहे, ‘मतदान गर्न बाँकी कोही

माननीय हुनुहुन्छ भने मतदानमा भाग लिन जानुस् ।’ तर, सिंह चलमल गरेनन् ।

कुर्सीमै टाँसिएर रहे । उनकै पार्टीका श्रम राज्यमन्त्री अनिस अन्सारी सरकारकै पक्षमा हस्ताक्षर गरी फर्किए ।

उता अर्का सांसद हृदयेश त्रिपाठी मतदानपूर्व ‘बहिष्कार’ गरिसकेका थिए ।

त्यसपछि सभामुखले सांसदलाई ‘मत सच्याउन’ तीन मिनेटको समय दिए । मत सच्चिएन ।

त्यसपछि सभामुखबाट परिणाम घोषणा भयो, ‘विश्‍वासको मतको पक्षमा १०१ र विपक्षमा ९२ मत ।’

मतदानपूर्व बारम्बार सिंह पछाडि फर्किनुको कारण रहेछ, हराएका

ती दुई सांसद आएका छन् कि छैनन् भन्‍ने पत्ता लगाउनु रहेछ ।

किनभने कांग्रेसका दुई सांसद ‘हराएपछि’ सरकारको पक्षमा बहुमत पुग्‍ने कुनै सम्भावना नै थिएन ।

ती दुई सांसद नदेखेपछि सिंह मतदान गर्न नगएका रहेछन् ।

सिंहले मतदान गरेको भए, देउवाको पक्षमा १०२ मत पुग्थ्यो ।

यद्यपि सरकारलाई एक मत पुग्‍ने थिएन । त्यो दिन ‘हराएका’ या ‘हराइएका’

कांग्रेसका दुई सांसद दीपकजंग शाह र चक्रबहादुर शाही उपस्थित भएको भए, सिंहले त्यसरी ‘बहिष्कार’ गर्ने थिएनन् ।

यद्यपि नाटकीय रूपमा मन मत परिवर्तन गर्नु आश्चर्यजनक रूपमा लिइयो ।

त्यो दिन कांग्रेसका दुई सांसद नहराएको भए, सिंहले १०४ पुर्‍याइदिन्थे ।

तर, दुई सांसद फरार भएपछि देउवाको मत १०१ मा झर्‍यो ।

Source:www.newsparda.com


Last Updated on: July 18th, 2021 at 7:24 pm
१२८ पटक हेरिएको

तपाईको प्रतिक्रिया