आइतबार १० आश्विन २०७८

शान्ति सम्झौतापछि सत्तामा देखिएका नेपालको माओवादी शक्ति

सत्ता-राजनीनिको एक दशक पनि पार नगरी छिन्नभिन्न हुन पुग्यो ।

यतिखेर माओवादीका पाँचवटा घटकहरू राजनीतिक वृत्तमा छन् ।

कम्युनिस्ट पार्टीको मुख्य गन्तव्य साम्यवाद भए पनि कोही समाजवाद, कोही पार्टीले नै परिभाषा गरेको ‘नौलो

जनवाद’ र कोही संसदवादी राजनीतिले नेपालको हित नगर्ने तर्कसहित अघि बढे ।

०६४ को निर्वाचनमा माओवादी पहिलो शक्तिको रूपमा उदायो ।

सँगै सरकार सञ्चालन र राज्यका अंगहरूको पुनर्गठनमा पार्टीभित्रै वैचारिक द्वन्द्व तीव्र बन्यो ।

१५ जेठ ०६५ गणतन्त्र घोषणापछि माओवादीले नौ महिना सरकारकाे नेतृत्व गर्याे ।

माओवादी सरकारबाट बाहिरिएपछि पार्टीमा बिग्रहको झिल्का झन्-झन् बढ्दै गयो ।
तत्कालीन पार्टी नेतृत्वसँग तीव्र असन्तुष्टि व्यक्त गर्दै ०६९ मा मोहन वैद्य

‘किरण’ समूहले माओवादीमा पार्टी विभाजनको विजारोपण गर्यो ।

रामबहादुर थापा ‘बादल’, नेत्रविक्रम चन्द ‘विप्लव’, पम्फा भुसाल, देव गुरुङलगायत नेताहरू वैद्यतिर लागे ।

तत्कालीन ‘ठूलो’ माओवादी पार्टीलाई संकुचनतिर धकेल्ने यो पहिलो कदम बन्यो ।

सशस्त्र जनयुद्धलाई नेतृत्व गर्नेमध्येका एक कमान्डर वैद्य माओवादीबाट

बाहिरिएपछि प्रचण्डको नेतृत्व क्षमता कमजोर हुँदै गएको पुष्टि घटनाक्रमहरूले गरेका छन् । यसपछि ०७०

सालको दोस्रो संविधानसभाको निर्वाचनमा माओवादी तेस्रो शक्तिको रूपमा सीमित हुन पुग्यो ।

जसको मुख्य कारण थियो- पार्टीका मुख्य नेताहरू नै अलग दिशामा लाग्नु ।

त्यसपछि कहिले नेपाली कांग्रेस कहिले नेकपा एमाले त

कहिले मधेसवादी क्षेत्रीय दलहरूसँग मौषमी गठबन्धन गर्दै

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादी निरन्तर सत्तामा रह्यो ।

सत्ताको चास्नीले माओवादी नेतृत्वलाई एकपछि अर्को गर्दै ‘अवसरवादी’ बनायो ।

माओवादी नेतृत्व जनताको माग र मुद्दालाई ‘विसर्जन’ गरेर सत्ता र

भत्तामा लिप्त हुन थालेको मात्र होइन जनयुद्धको रापतापप्रति स्खलित भएको कार्यकर्ताको आरोप अद्यपि छ ।

जनताको त्याग, तपस्या र बलिदानको आडमा ३ असोज ०७२ मा

संविधानसभाबाट मुलुकले ‘नेपालको संविधान’ पायो ।

माओवादी र मधेसवादी दलहरूले संविधानप्रति असहमति दर्ज गर्दै आएका छन् ।

प्रचण्डलाई अर्को धक्का
माओवादीबाट वैद्य अलगिएपछि पार्टीमा नेतृत्वदायी ‘अभिभावक’

बाहिरिएको पीडामात्र होइन वैद्यलाई ‘गुरु’ मान्ने प्रचण्ड व्यक्तिगत रूपमा समेत क्षीण बन्दै गएको सहजै अनुमान गर्न सकिन्थ्यो ।

संविधानसभाबाटै संविधान निर्माण गर्नुपर्छ भन्ने मुख्य एजेन्डा लिएर जनयुद्धको नेतृत्व गरेका

डा.बाबुराम भट्टराईले नयाँ संविधान जारी भएपछि ९ असाेज ०७२ मा प्रचण्डको साथ छाडे ।

आमवृत्तमा वौद्धिक नेताको छवि बनाएका डा.भट्टराई माओवादी केन्द्रलाई ‘रातो स्टिकर टाँसेको घर’को

आरोप लगाउँदै पार्टीबाट बाहिरिएपछि प्रचण्ड थप कमजोर बने ।

माओवादी शक्तिहरू यसरी छिन्नभिन्नपछि दोस्रो तहका केही नेता प्रचण्डकै पार्टीमा फर्किए तर मूलनेतृत्व (वैद्य-डा.भट्टरई) फर्किएन ।

अलग राजनीतिक पार्टीको रूपमा अहिलेसम्म यथावत छ ।

प्रचण्डको महत्वाकांक्षले जन्माएको वाम गठबन्धन
तत्कालीन एमाले र माओवादी केन्द्रबीच ०७४ सालको स्थानीय

निर्वाचनमा चुनावी गठबन्धन बन्यो । संविधान जारीपछि भारतले लगाएको अघोषित नाकाबन्दीको ‘डटेर सामना गर्नुपर्ने’

अभिव्यक्ति दिएपछि नेपाली जनतामा राष्ट्रवादको छवि बनाएका ओली त्यतिबेला ‘सफल राजनेता’ का रूपमा उदाएका थिए ।

तत्कालीन संसदको अंकगणितमा एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो शक्तिका रूपमा थिए ।

सुकेका प्रचण्ड र फुकेका ओली चुनावी गठबन्धन बनाउन तत्काल सहमत भइहाले ।

गठबन्धन गर्दै चुनावी मैदानमा होमिएको ‘वाम गठबन्धन’लाई

जनताले झण्डै दुई तिहाइ बहुमतसहित सरकारको नेतृत्व गर्ने अनुमति दिए ।

‘वाम एकता’ नै ०३ जेठ ०७५ मा पार्टी एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी बन्यो ।

पार्टी एकताका बाँकी प्रक्रियाहरू तीन महिनाभित्र मिलाउने गरी

ओली-प्रचण्डबीच सहमति भए पनि प्रकारान्तरमा त्यसले तीनवर्ष खर्चियो ।

अन्ततः एकताले पूर्णता नपाउँदै सर्वोच्च अदालतको २३ फागुन ०७७ को

फैसलापछि एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा ब्युँतिए ।

एक्लिएका प्रचण्ड फेसबुकमा सुझाव माग्दै
ओलीलाई विश्वास

गरेर एमालेमा पार्टीलाई विलय गराएका प्रचण्ड नेकपामा ओलीले पूर्वसहहमति अनुसार जिम्मेवारी नदिएपछि नेकपामा

‘सौतेलो’ बनेका झलनाथ खनाल र माधव नेपालसँग बढी नजिकिए ।

५ पुसको ओली-कदमपछि बिग्रहको उत्कर्षमा पुगेको नेकपामा पुराना एमाले

नेता खनाल र नेपाल पनि प्रचण्डसँगै माइतीघर मण्डलाहुँदै पेरिसडाँडा पुगेका थिए ।

माओवादी केन्द्रका सातजना मन्त्री ओली नेतृत्वको

सरकारमा छन् । यसले पनि प्रचण्ड कमजोर भएको पुष्टि गर्छ ।

२७ वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने तय भएपछि

२२ वैशाखमा माओवादी केन्द्रले सरकालाई दिएको समर्थन फिर्ता लिएको औपचारिक जानकारी गर्यो ।

ओलीलाई प्रधानमन्त्रीबाट जसरी पनि ‘अपदस्त’ गरेर नेपालसमेतलाई साथ लिएर वैकल्पिक

सरकार गठनको रणनीतिमा रहेका प्रचण्डलाई नेपालले पनि अन्ततः ‘कैची’ लगाए !

३० गते बिहीबार ओलीले माधव नेपालसहित चार नेतालाई कारबाही फुकुवा गरेर

एमालेमै आउन ढोका खोलिदिएपछि नेपालको दूरी प्रचण्डभन्दा ओलीसँग नजिकियो ।

ओलीको यो चालबाजीपछि नेपालको छायाँसाथ पाएका प्रचण्ड अरू कमजोर बने ।

नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेपाल र नेपालको सहयोगमा वैकल्पिक सरकार गठनको सम्भावना टरेपछि

प्रचण्डले माओवादी केन्द्रलाई थप बलियो बनाउन फेसबुकमा स्टाटस लेख्दै कार्यकर्ता र जनतासँग सुझाव मागेका छन् ।

‘हाम्रो गौरवशाली पार्टी नेकपा (माओवादी केन्द्र) द्वारा आगामी दिनका लागि विचार, राजनीतिक, संगठनात्मक संरचना,

घाइते अपाङ्ग एवम् शहिद परिवार लगायत नेता कार्यकताको आचरण अनि व्यवस्थापन र

जिम्मेवारीको बारेमा नयाँ ढंगले अगाडि बढाउने सोच राखेकोले

उचित राय सल्लाह सुझावको अपेक्षा गरिएको छ,’ प्रचण्डको फेसबुक पेजमा उल्लेख छ ।

प्रचण्डको यो भनाइमा माओवादी केन्द्रलाई बलियो बनाउने आशय स्पष्ट छ ।

माओवादी केन्द्रका स्थायी समिति सदस्य देवेन्द्र पौडेल अध्यक्ष

प्रचण्ड पार्टीलाई थप शक्तिशाली बनाउने योजनामा रहेको बताउँछन् ।

‘पार्टीलाई थप व्यवस्थित र जनआधारित, ठूलो र वृहत पार्टी बनाउनका लागि

अध्यक्षज्यूले सुझाव माग्नु भएको हो,’ पौडेलले वेबटिभी खबरसँग भने ।

माओवादी एकता कति सम्भव ?
आम कार्यकर्ताको धारणा माओवादी नेताहरू एकढिक्का हुनुपर्छ भन्नेछ ।

एक्लाएक्लै अघि बढे गन्तव्यमा पुग्न नसकिने नेतृत्वकै ठम्याइ छ ।

माओवादीसँग अन्य कम्युनिस्ट र प्रगतिशीलहरूको एकता गर्न प्रचण्ड स्वयम् पनि चाहिरहेका छन् ।

१ फागुन ०७७ मा डा.भट्टराईले लेखेको ‘गुमनाम आमाहरूको कथा’

पुस्तक सार्वजनिकीकरण कार्यक्रममा प्रमुख अतिथि बनेर पुगेका

प्रचण्डले भट्टराईसँग, ‘प्रतिगमनविरुद्ध लड्ने शक्तिहरू एक हुने बेला आएको’ बताएका थिए ।

प्रचण्डपछि बोलेका डा.भट्टराईले प्रचण्डको उक्त आशय नबुझ्ने कुरै थिएन ।

प्रचण्डलाई जवाफ दिँदै उनले नेपालमा अब पुरानो धारको कम्युनिज्मको

आवश्यकताको अन्त्य भइसकेकाले अहिले तत्काल सँगै अघि बढ्न नसकिने बताएका थिए ।

यदि माओवादीले पार्टीको मूल लक्ष्य नै समाजवाद राख्छ भने

समाजवादी केन्द्र स्थापना गर्न सकिने कुरामा विचार गर्न सकिने बताएका थिए ।

माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल पनि समाजवादी पार्टीले

समाजवादी केन्द्र स्थापनाको प्रस्ताव ल्याए आफूहरूलाई स्वीकार्य हुने बताउँछन् ।

‘हाम्रो पार्टी (माओवादी केन्द्र)को लक्ष्य पनि समाजवाद नै हो ।

यदि भट्टराईजीहरूले समाजवादी केन्द्र स्थापनाको प्रस्ताव गर्नुहुन्छ भने हामी त्यसमा सकारात्मक छौं,’ पौडेलले भने ।

पौडेलको भनाइमा जनता समाजवादी पार्टी, नेपाल (जसपा) का केन्द्रीय

सदस्य विश्वदीप पाण्डेको विचार पनि मिल्दोजुल्दो देखिन्छ ।

‘यदि प्रचण्ड कमरेड र माओवादी साथीहरू कम्युनिस्ट ब्रान्ड (माओवादी ब्रान्ड) छोडेर अहिलेको

समयअनुसार समाजवादी केन्द्र बनाउने अभियानमा उहाँहरू तयार हुनुहुन्छ भने सहकार्य,

चुनावी गठबन्धन वा पार्टी एकता नै आवश्यक पर्दा सम्भव छ,’ पाण्डे भन्छन्,

‘तर कम्युनिस्ट र माओवादी ब्रान्ड सहितको एकता अब सम्भव छैन ।

समयको आवश्यकता पनि होइन । त्यसैले सम्भव छैन ।’

पौडेल र पाण्डेको विचारमा माओवादी (क्रान्तिकारी) का वरिष्ठ नेता सीपी गजुरेल ‘गौरव’ असहमत छन् ।

उनले डा.भट्टराई र प्रचण्ड नै सच्चा कम्युनिस्ट नरहेकाले

अब उनीहरूकै बाटोमा हिँड्न सक्ने अवस्था नै नरहेको किटान गरे ।

‘कमरेड लेनिनले कम्युनिस्ट पार्टीको उद्देश्य नै साम्यवाद हो भन्नु भएको छ ।

बाबुरामजीलाई मन लाग्दा कहिले पुँजीवादी दल हुने कहिले समाजवादी दल हुने भन्ने त हुँदैन नि ।

प्रचण्डजी पनि माओवादीको सिद्धान्त बिर्सिएर एमाले हुनुभएकै हो ।

सच्चा कम्युनिस्टको सिद्धान्त बिर्सिनु भएका उहाँहरूसँग हामी मिसिन सक्दैनौं,’ गजुरेलले भने ।

यता नेपाल कम्युनिस्ट पार्टी माओवादी (क्रान्तिकारी) (विप्लव समूह) प्रचण्डसँग तत्काल मिल्न सक्ने अवस्थामा छैन ।

गोपाल किराँती नेतृत्वको नेकपा माओवादी केन्द्रले भने

प्रचण्डलाई नेता मान्दै समाजवादी केन्द्र स्थापना हुनुपर्ने बताउँदै आएको छ ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा पनि किराँतीले समाजवादी क्रान्तिको स्पष्ट

खाका निर्माण गरी अघि बढ्न सहमत भए प्रचण्डको नेतृत्वमा जुट्न आफूहरू तयार रहेको बताएका छन् ।

‘समाजवाद किन भन्ने प्रश्नको जवाफ धेरैसँग होलान् । परन्तु, नेपालमा समाजवाद कसरी भन्ने प्रश्नको

सैद्वान्तिक जवाफ विगत तीन वर्षमा हामीले असाध्य परिश्रमको प्रतिफलस्वरुप आर्जन गरेका छौं ।

जुन, नेपाली कम्युनिस्ट आन्दोलनको पुँजी हो, जसलाई नेपालमा समाजवादी

क्रान्तिका लागि निःस्वार्थ योगदान गर्न हामीहरु अग्रसर छौं,’ किराँतीले भनेका छन् ।

Source:www.newsparda.com


Last Updated on: July 10th, 2021 at 7:34 pm
१४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया