शुक्रबार ०८ आश्विन २०७८

काठमाडौं ।

नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक बिना निष्कर्ष टुंगिएको छ ।

बुधबारदेखि बिहीबार सहमतिको नतिजा आउने दाबी गरेका दुबै समूहको

बिहीबार दुई पटक बसेको कार्यदलको बैठक बिना सहमति टुंगिएको छ ।

बिहीबार बिहान पार्टी अध्यक्ष केपी शर्मा ओली समूह कार्यदल सदस्य विष्णु पौडेल र

वरिष्ठ नेता नेपाल समूहका कार्यदल संयोजक भिम रावलबीच वान-टु-वान वार्ता भयो ।

उक्त वार्ताको सन्देश लिएर रावल कोटेश्‍वरस्थित नेपाल निवास पुगे भने विष्णु पौडेल बालुवाटार पुगे ।

वार्ताको विवरण दुबै नेताले आफ्नो हेडक्वार्टरमा सुनाएपछि दुबै नेता सिंहदरबार पुगे र कार्यदलको बैठक बस्यो ।

कार्यदलको बैठक केही समयमै फेरि बस्‍ने गरि स्थगित भयो ।

बैठक बिहीबार साँझ सात बजेका लागि सारियो र दुबै समूहका

कार्यदल सदस्यहरु आ-आफ्नो गुटको आन्तरिक छलफलमा जुटे ।

गुटको भेला सकेर फेरि कार्यदलको बैठक बसेका दुबै समूह बिना निष्कर्ष बाहिरिएका छन् ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बिहीबार दोस्रो पटक बसेको

बैठकले कुनै निष्कर्ष निकाल्न नसकेपछि प्रगति शून्य भएको हो ।

दिनभर दौडधुपमा लागे पनि दुबै समूहले आफ्नो अडानलाई कायमै राखेपछि सहमति जुट्न सकेन ।

यद्यपि एमाले नेता सुवास नेम्वाङले भोलि बस्ने बैठकले निश्कर्ष निकाल्ने बताएका छन् ।

उनले भने, “भोलि साढे ११ बजे बस्ने बैठकले टुंगोमा पुर्‍याउने छ । हामी आशावादी छौं ।”

तर नेता घनश्याम भुषालले १० दिनअघि एमाले विवाद जुन अवस्थामा थियो

त्योभन्दा बढि थप कुनै प्रगति नभएको बताए । उनले थपे, “हामी जहाँको त्यही छौं ।

आजको बैठकमा एक ढंगले कुरा गर्ने तयारी थियो ।

तर विष्णु पौडेल आउनुभएन । अनि विषयमा प्रवेश गर्न पाइएन ।”

यसैबीच माधव नेपाल पक्षका नेताहरुले ओली पक्षका नेताहरु वार्ताका लागि इमानदार नदेखिएको आरोप लगाएका छन् ।

ओली पक्षले कार्यदलमा कुनै एजेन्डा नै प्रस्तुत गर्न नसकेको नेपाल पक्षका नेताहरुको आरोप छ ।

आज गृहकार्य गरेर साँझ ७ बजे बैठक गर्ने भनिए पनि ओली पक्षले सहमतिको कुनै प्रस्ताव

नल्याएको र विष्णु पौडेल वार्ताबाटै भागेको  नेपाल पक्षका नेताले बताए  ।

Source:www.onlinepana.com


Last Updated on: July 8th, 2021 at 10:27 pm
११७ पटक हेरिएको

तपाईको प्रतिक्रिया