आइतबार १० आश्विन २०७८

काठमाडौं ।

सत्तारुढ नेकपा एमालेभित्रको विवाद तत्काल साम्य नहुने संकेत देखिएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको छलफल निष्कर्षविहीन भएको हो ।

ओली र नेपालबीचको दुई घण्टाको छलफलका क्रममा माधव नेपालले

भाग खोजेपछि कुनै सहमति जुट्न नसकेको हो ।

बैठकमा अध्यक्ष ओली पावर सेयरिङ मा सहमत नभएपछि एमाले विवाद समाधानमा कुनै

प्रगति हुन नसकेको बैठकमा सहभागी एक नेताले बताए ।

‘खासगरी अध्यक्ष ओली पावर सेयरिङ मा सहमत नभएपछि वार्ता निष्कर्षविहीन​ बन्यो,’ ती नेताको भनाइ छ ।

तथापि माधव नेपाल पक्षका नेताहरु भने आफूहरुले कुनै भागवण्डा वा ‘पावर सेयरिङ’ खोजेको

नभई पार्टीभित्र सम्मानजनक एकता र प्याकेजमा सहमति खोजेको बताउँछन् ।

नेपाल पक्षका एक कार्यदल सदस्यले भने, ‘हामीले पावर सेयरिङ खोजेको होइन ।’

उता ओली पक्षले भने जेठ २ मा फर्किसकेको दाबी गर्दै केन्द्रीय कमिटीको बैठकमा

आउन आग्रह गर्दै यसबाहेक नेपाल पक्षसँग कुनै पनि डिल नगरिने बटमलाइन बनाइएको छ ।

बुधबार दुई नेतावीचको कुराकानीमा यसैमा कुरो अड्किएको स्रोतले बतायो ।

मेरियट भेटवार्ताअघि बुधबार दिउँसो ओली र नेपालबीच फोन संवादसमेत भएको थियो ।

उक्त भेटमा ओलीले गम्भीर सङ्कट आइलागेको नेता नेपाललाई बताएका थिए ।

तर साँझको भेटमा ओलीले पूर्ववत् अडानबाट पछि नहट्ने अडान राखे पछि सहमति हुन सकेन ।

मेरियटमा नेताहरुबीच भएको छलफलपछि नेता भीम रावल र

सुरेन्द्र पाण्डेले भेटवार्ताले समस्या समाधान गर्न सहज हुने प्रतिक्रिया मात्रै दिए ।

होटल मेरियटमा ओली र नेता नेपाललाई पार्टी विवाद समाधान गर्न गठित कार्यदलका सदस्यहरूले

कार्यदल तहमा भएका सहमति र हुनसक्ने प्रगतिबारे ब्रिफिङ गरेका थिए ।

ओली र नेपाललाई कार्यदलका नेताहरू नेपाल पक्षका कार्यदल संयोजक भीम रावल,

सदस्य सुरेन्द्र पाण्डे तथा ओली पक्षका कार्यदल संयोजक सुवास नेम्वाङ छलफलमा सहभागी भएका थिए ।

बैठकस्थलबाट बाहिरिने क्रममा बरिष्ठ नेता नेपालले पत्रकारलाई केही पनि प्रतिक्रिया दिन मानेनन् ।

नेता नेपालभन्दा केही ढिलो गरी राति ९ बजेर ५२ मिनेटमा होटलबाट बाहिरिएका

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मिडियालाई कुनै प्रतिक्रिया दिएनन् ।

कार्यदलका सदस्य भीम रावलले पत्रकारहरुसँग भने, ‘कार्यदलका तर्फबाट

कुराकानी गरिरहेको यहाँहरुलाई थाहा छँदैछ, शीर्ष नेताहरुवीच कुराकानी भयो ।

सकारात्मक दिशामा कसरी लैजाने भन्नेमा कुराकानी भइरहेको छ ।

फेरि कुराकानी हुनेछ । कुराकानीलाई गहिराइमा लानुपर्ने महसुस भएको छ ।

फेरि पनि कुराकानी गर्ने छौं । जति पनि वार्ता भइरहेको छ, समस्या समाधानका लागि भइरहेको छ ।’

कार्यदलका अर्का सदस्य सुरेन्द्र पाण्डेले ओली र नेपालवीच

एक्लाएक्लै कुराकानी भएको र त्यो सकारात्मक भएको बताए ।

अब विहीबार पुनः कार्यदलको बैठक बस्ने नेता पाण्डेले बताए ।

माधवले हुन्न भनेपछि कुरा बिग्रियो

१८ असारमा केन्द्रीय कमिटीको बैठक राखेर सोमबार साँझसम्म सर्वोच्च अदालतमा विचाराधीन मुद्दाबाट

हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका ओलीले भोलिपल्ट अर्को घोषणा गरे,

फैसला आउँदासम्म हस्ताक्षर कायमै राख्नेहरु एमाले रहन्नन् ।

तर भोलिपल्टै सुवास नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेल नेता

नेपालको निवासमा पुगे र संयुक्त वक्तव्य जारी गर्ने प्रस्ताव राखे ।

वरिष्ठ नेता नेपाल त्यसमा सहमत भए र कार्यदलमार्फत संयुक्त वक्तव्यको मस्यौदा ल्याउन आग्रह गरे ।

तर ओली पक्षका नेताहरुले कार्यदल निष्क्रिय रहेकाले त्यो ब्यूँताउन पनि दुई नेता भेट्नुपर्ने बताए ।

त्यसमा सहमति नजुटेपछि एमाले अध्यक्ष ओली कार्यदल ब्यूँताउन सफल भए । सोमबार साँझ बैठक बस्यो ।

लगातार तेस्रो दिन बुधबार सिंहदरबारमा बसेको कार्यदलको बैठकपछि सचिव

गोकर्ण विष्टका अनुसार सर्वोच्च अदालतको फैसलाअनुसार २ जेठ २०७५ मा फर्किंदा

पार्टी र जनवर्गीय संगठनहरुलाई पूर्ववत् अवस्थामा फर्काउन लगभग सहमति भएको थियो ।

पार्टी केन्द्रीय कमिटीको संख्या, एमालेमा रहेका पूर्वमाओवादी

नेताहरुको व्यवस्थापन र अदालतको मुद्दामा धेरै नजिक पुगेको छ ।

कार्यदलका अर्का एक सदस्यले बताएअनुसार ओली पक्षका नेताहरुले अध्यक्ष ओली र

वरिष्ठ नेता नेपालबीच भेट भएपछि विवादित विषयहरु मिल्ने दाबी गरेका थिए ।

उनीहरुले पावर शेयरिङ लगायतका विषयमा सहमति

जुट्नसक्ने सन्देश ओली पक्षका नेताहरुले नेता नेपालसम्म पुर्‍याएका थिए ।

अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच बुधबार टेलिफोन सम्वाद समेत भएपछि मेयरिटको भेट भयो ।

तर भेटका क्रममा अध्यक्ष ओलीले सहमतिका लागि न

कुनै प्रस्ताव राखे, न कार्यदलमा नमिलेका विषयमा छलफल नै गर्न चाहे ।

उनले हस्ताक्षर फिर्ता लिन आग्रह मात्र गरेको नेता नेपाल निकट स्रोतले बतायो ।

‘उहाँले निःशर्त सहयोग गनुपर्छ जस्तो कुरा गर्नुभयो ।

हामीले उठाउँदै आएका मुद्दाहरुमा सहमतिको कुरै गर्नु भएन ।

त्यसो भएपछि माधव नेपालले पनि मान्नु भएन’, नेपाल निकट स्रोतले भन्यो ।

Source:www.onlinemarg.com


Last Updated on: July 8th, 2021 at 4:52 pm
२३७ पटक हेरिएको

तपाईको प्रतिक्रिया