आइतबार ०३ आश्विन २०७८

काठमाडौं ।

भ्रष्ट्राचार विरोधी सरकारी कर्मचारीको छवि बनाएर चर्चामा रहेका

नेपाल सरकारका उपसचिव प्रेमप्रसाद सञ्जेलले अवकाश पाएका छन्।

विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयमा कार्यरत उपसचिव सञ्जेलले

५८ वर्षे उमेर हदका कारण सरकारी सेवाबाट अनिवार्य अवकाश पाएका हुन्।

४० वर्षभन्दा बढी सरकारी सेवामा रहेर असार १५ गतेबाट उनी सेवानिवृत्त भएका हुन्।

भ्रष्ट्राचारविरुद्ध खरो उत्रिने उच्च सरकारी कर्मचारीका रूपमा सञ्जेलले छुट्टै छाप बनाउँदा

उनी जागिरे जीवनभर चर्चामै रहिरहे। ‘हामी घुस खादैनौँ, तपाईं घुस दिन आउनुभएको भए

उल्टै कारबाहीमा पर्नुहोला, हजुर सावधान’ भन्ने उनको चर्चित नाराको चौतर्फी प्रशंसा हुने गरेको छ।

सञ्जेल मुलुकको कमजोर एवं लथालिंग प्रशासनिक अवस्था तथा जताततै भ्रष्ट्राचार र अनियमितता बढेपछि

त्यसविरुद्ध अभियान चलाएर राज्य संयन्त्रलाई खुला चुनौती दिने सरकारी कर्मचारी हुन्।

कोहीसँग पनि घुस नखाएको र भ्रष्ट्राचारविरुद्ध चालेका कदमकै कारण उनको तारिफ हुने गरेको छ।

तर उनले अपनाउने छुद्र शैलीको भने विरोध भइरह्यो। उनले कर्मचारीलाई

सम्मानजनक शब्द तथा व्यवहार नगरेको उनका आलोचकले बताउने गरेका छन्।

‘घुस नखाने र भ्रष्ट्राचार नगर्ने भएकाले मैले जे गर्दा र जे भन्दा पनि सबैले मान्नुपर्छ भन्ने स्वभाव उहाँमा थियो,’ श्रम

कार्यालयका एक कर्मचारीले भने, ‘त्यो स्वभावले उहाँकै थप उचाइमा क्षति गर्‍यो भन्ने सबैको बुझाइ छ।’

ती कर्मचारीका अनुसार घुस नखाने र भ्रष्ट्राचार नगर्ने भएकै कारण सञ्जेलमा केही दम्भ र घमण्ड थियो।

‘भ्रष्ट्राचार नगर्ने शैलीको सबैले स्वागत गरे। तर स्वभाव र व्यवहारले सञ्जेलका बारेमा

त्यति राम्रो सन्देश गएन,’ उनले भने, ‘घुस नखाएजस्तै व्यवहार पनि राम्रो देखाएको

भए अझै उहाँको चर्चा र सम्मान हुने थियो। यो कुरामा भने उहाँ चुक्नुभयो।’

तर अन्यायमा पर्दा सञ्जेलबाट न्याय पाइन्छ भन्ने छाप छाड्न उनी सफल भएर सरकारी सेवाबाट विदा भए।

घुस खान र भ्रष्ट्राचार गर्न हुँदैन भन्ने मान्यता स्थापित गराएर लामो सरकारी सेवाबाट विश्राम लिएका सञ्जेलले

सेवाग्राहीको काममा ढिलासुस्ती गर्न हुँदैन भन्ने थिति बसाले।

जागिरे जीवनमा राजनैतिक गन्धबाट टाढै रहेका उनी विभिन्न दबाब सामु कहिल्यै घुँडा नटेकेका सरकारी कर्मचारी पनि हुन्।

सञ्जेलको अवकाशपछि श्रम तथा रोजगार कार्यालय विराटनगरमा

निमित्त कार्यालय प्रमुखको जिम्मेवारी अर्जुनकुमार चौधरीलाई दिइएको छ।

श्रममा रहँदा सञ्जेलले विदेशमा समस्यामा परेकाको उद्धारमा सहयोग गर्ने, गैरकानुनी रुपमा विदेश पठाउने

तथा कामदारलाई शोषण गर्ने उद्योग, कलकारखाना, होटल लगायतलाई कारबाही गर्ने गरे।

वैदेशिक रोजगारीका नाममा ठगिएको ३ करोड १० लाख रुपैयाँ असुल गरिदिए।

कार्यालयका सूचना अधिकारी रामप्रसाद तिमल्सिनाका

अनुसार सञ्जेलको निर्णयबाट वैदेशिक रोजगारी ठगीमा संलग्न ११० जना हिरासतमा र थुनामा परे।

ठगिएका ४ हजार ५ सयभन्दा बढीले न्याय पाएको उनको भनाइ छ।

तर वैदेशिक रोजगार विभागले वैदेशिक ठगी मुद्दा हेर्न २०७६ चैतबाट आफूलाई रोक लगाएको सञ्जेलको भनाइ छ।

उनले विभिन्न उद्योग तथा कारखानाबाट शोषणमा परेर पीडित बनेका मजदुर तथा

श्रमिकको पक्षमा काम गरेर उनीहरुलाई न्याय दिलाए। ‘श्रम कार्यालयमा कार्यरत रहँदा

वैदेशिक रोजगारी र उद्योगबाट पीडित भएकाकै उद्धार र सेवामा सबैभन्दा धेरै ध्यान दिएँ,’ सञ्जेल भन्छन्,

‘सेवामा हुने ढिलासुस्ती हटाउँदै घुस माग्ने कर्मचारीलाई जागिरबाट निकालिदिएँ।’

सञ्जेलले २ वर्ष ८ महिना १४ दिन श्रम कार्यालयमा बिताउँदा १० हजारभन्दा बढी मजदुरलाई न्याय दिएको सुनाए।

सञ्जेललाई निर्वाचन आयोगको क्षेत्रीय निर्देशकबाट २०७५ असोज २३ गते उक्त

कार्यालयको प्रमुखका रूपमा पठाइएको थियो। तर कर्मचारीका नेता र केही व्यापारीको

दबाबमा पुस ५ गते सरकारले व्यवसायिक सीप तथा तालिम प्रतिष्ठान इटहरी सुरु गर्‍यो।

त्यसविरुद्ध सञ्जेलले सर्वोच्च अदालतमा २०७५ फागुन १७ गते रिट निवेदन दायर गरे। सर्वोच्चको आदेशपछि उनी

२०७५ फागुन २२ गते श्रम तथा रोजगार कार्यालय विराटनगरमै हाजिर भएर काम थालेका थिए।

सरकारी सेवामा रहुन्जेल भ्रष्टाचार नगरेको, विचौलियाविरुद्ध खनिएको,

घुस नखाएको र आफ्ना कार्यालयमा कार्यरत कसैलाई पनि भ्रष्ट्राचार गर्न नदिएको सञ्जेल बताउँछन्।

उनले कार्यालयको काममा झारा टार्ने, ढिलासुस्ती गर्ने, घुस खाने र

सेवाग्राहीलाई सहज ढंगले सेवा प्रवाह नगर्ने कर्मचारीलाई तत्कालै जागिरबाट हटाउने गरेका थिए।

भ्रष्ट्राचार गर्ने र घुस खाने धेरै कर्मचारीले उनको कारबाहीमा परेर जागिरे जीवनबाट हात धुनु परेको थियो।

श्रम कार्यालयबाट उनले १९ जना कर्मचारीलाई सेवाबाट बर्खास्त गरिदिएका छन्।

‘घुस्याहा’ कर्मचारीकै कारण मुलुकमा भ्रष्ट्राचार बढिरहेको र सर्वसाधारण

जनताले सहज सेवा पाउन नसकेको उनको ठम्याइ छ। भ्रष्ट्राचार र घुसखोरीको विरोध गर्दा हुने

जस्तोसुकै कारबाही भोग्न आफू तयार रहेको भनेर उनले राज्य संयन्त्रलाई खुला चुनौती दिँदै आएका थिए।

सञ्जेल २०३८ साल कात्तिक २८ गतेबाट खरिदारदेखि सरकारी सेवा सुरु गरेका हुन्।

शाखा अधिकृत हुँदै पछि बढुवा भएर २०६६ कात्तिक २९ गते उपसचिव बनेका थिए।

धेरै आरोह–अवरोहबीच सञ्जेलले भ्रष्ट्राचारको विरोध गरेकै कारण सरकारबाट

बारम्बार ‘मनपरी’ र ‘आकस्मिक तथा अस्वभाविक’ सरुवाको सिकार बन्नु परेको स्मरण गरे।

लामो समयपछि सरकारी सेवाबाट विश्राम लिएकाले अहिल्यै नयाँ काम गर्ने योजना नरहेको उनले सुनाए।

‘विभिन्न मुलुकबाट भ्रष्ट्राचारविरुद्धको अभियानमा सहयोग गरिदिन अफर आइरहेका छन्,’

सञ्जेल भन्छन्, ‘केही समय घरमै आराम गरेपछि त्यो विषयमा सोचौँला।’

यसअघि पनि अफर आएको उनी बताउँछन्। तर आफ्नै देशमा

खोरिया फाँडेजस्तो भ्रष्ट्राचार भएकाले नगइकन मुलुक सुधार्नुपर्छ भनेर लागेको उनले बताए।

उनको यो भनाईलाई उनको राजीतिमा आउने चाहका रुपमा पनि बुझ्न सकिन्छ ।

मुलुकमा मौलाएको संस्थागत भ्रष्ट्राचार रोक्न सानातिना प्रयासबाट सम्भव नहुने उनको ठम्याइ छ।।

नागरिक अगुवा केशव अधिकारी प्रेम सञ्जेल भ्रष्ट्राचारविरुद्धको एउटा ब्राण्ड भएको बताउँछन्।

‘एउटाको व्यवहार अर्कोलाई मन नपर्न सक्छ। सबैका आआफ्ना स्वभाव हुन्छ,’

उनले भने, ‘तर सञ्जेलले भ्रष्ट्राचारविरुद्ध चालेको कदम मुलुक र जनताकै हितमा छ।

सञ्जेलका नराम्रा कुरा छाडेर राम्रा कुराको अनुशरण गर्र्नु उचित हुन्छ।’

यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।

Source:www.onlinemarg.com


Last Updated on: July 3rd, 2021 at 7:56 pm
११३ पटक हेरिएको

तपाईको प्रतिक्रिया