शुक्रबार ०८ आश्विन २०७८

काठमाडौं ।

प्रधानमन्त्री एवं आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँगको प्रतिशोधका कारण माधव नेपाल नेकपा एमालेबाट अलग्गिएर नयाँ पार्टी खोल्ने तयारी गर्नुभएको छ ।

उक्त पार्टीलाई पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धनमा समाहित गरी चुनाव लड्ने योजना पनि नेपालले बनाउनुभएको छ ।

प्रतिनिधिसभा फेरि विघटन गरिएपछि नेपाल समूहले संसद् विघटनको विरोध गर्दै विपक्षी गठबन्धनलाई साथ दिने घोषणा गरिसकेको छ ।

विघटनलाई नै चुनावी मुद्दा बनाएर मोर्चाबद्ध रुपमा अघि बढ्ने अपेक्षा नेपाल पक्षको छ ।

प्रचण्डको नेतृत्वमा हुने मोर्चालाई नै चुनावी गठबन्धन बनाउने सोच नेपाल समूहले बनाएको छ ।

सकेसम्म कांग्रेसलाई गठबन्धनमा स्वागत गर्ने र ओली नेतृत्वको एमालेलाई आगामी चुनावमा शून्यमा परिणत गर्ने नेपाल समूहको योजना छ ।

कांग्रेसले एक्लै चुनाव लड्ने भए पनि अरु जति समूह मोर्चामा आबद्ध हुन्छन्, तिनलाई समेट्दै लैजानुपर्ने नेपाल पक्षको बुझाइ छ ।

छुट्टै पार्टी खोल्ने नेपालको तयारीमा सुरेन्द्र पाण्डे लगायत केही प्रभावशाली नेताहरुले भने साथ नदिने भएका छन् ।

सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, ठाकुर गैरे, गणेश पहाडी लगायतले एमाले छाडेर छुट्टै पार्टीमा जान नसकिने स्पष्ट पारिसक्नुभएको छ ।

शेरबहादुर तामाङ, लालबाबु यादव, विष्ण रिजाल लगायत भने नेपाल समूह त्यागेर यसअघि नै एमालेको मूलधारमा फर्किनुभएको छ ।

नेपालले केही कार्यकर्तामार्फत् निर्वाचन आयोगमा यसअघि नै दल दर्ता पनि गराइसकेका छन् ।

अबको केही दिनमा पार्टी घोषणा गर्ने तयारी छ ।

यस कार्यमा नेपाललाई वामदेव गौतमले पनि साथ दिनेछन् ।
तर, गौतमसँग रोपाइँ प्रकरणमा चर्चित पूर्वमन्त्री हरि पराजुलीबाहेक कोही नेता कार्यकर्ता छैनन् ।

नेपालसँग भने भीम रावल, रघु पन्त, भीम आचार्य, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामकुमारी झाँक्रीलगायत हुनेछन् ।

शनिबार बसेको एमाले स्थायी समितिको बैठकले पनि पार्टीमा फर्कन सक्ने नेताहरुलाई कारवाही गरेको छैन ।

Source:www.newsparda.com


Last Updated on: June 18th, 2021 at 8:30 pm
९० पटक हेरिएको

तपाईको प्रतिक्रिया