आइतबार १० आश्विन २०७८

काठमाडौं ।

उपेन्द्र यादवलाई महन्थ ठाकुरले एक दूत मार्फत् खबर पठाउनुभयो– बाबुराम भट्टराईलाई त्यागेर आए पार्टीमा एकता र मेलमिलाप गर्न सकिन्छ ।

महन्थ ठाकुर पक्षले पठाएको खबर उपेन्द्रले मान्नुभएन । यो खबर बाबुरामको कानमा पुग्यो ।

त्यसपछि महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई उपेन्द्र पक्षले पार्टीबाट निकालेको घोषणा गरेको छ ।

स्रोत अनुसार अन्तिम समयसम्म महन्थ पक्षले पार्टी एकता जोगाउन प्रयास गरेको थियो ।

महन्थ पक्षको सर्त थियो– बाबुरामलाई छाडेर एकता गरौं । अर्थात्, बाबुरामलाई विदा गरौं ।

महन्थ पक्षको बुझाई छ– पार्टी फुटाउन, पार्टीभित्र भाँडभैलो मच्चाउन बाबुरामको मुख्य भूमिका छ ।

जसपाका एक नेताले भने– ‘हामीले उपेन्द्रजीको पार्टीसँग एकीकरण गरेका थियौं, तर, त्यो पार्टीत एक सिट मात्र सांसद भएका बाबुरामको समूहले कब्जा गरिसकेको रहेछ ।’

बाबुरामले उपेन्द्रको काँधमा राखेर बन्दूक पड्काइरहेको महन्थ पक्षको बुझाई छ ।

उपेन्द्रको समूहमा अशोक राईलाई पनि बाबुरामले पाखा लगाइसकेको बताइन्छ । गत चुनावपछि अशोक राई उपेन्द्रको लाचार छायाँ देखिँदै आउनुभएको थियो ।

अहिले आएर उपेन्द्र नै बाबुरामको छायाँ बनेको महन्थ पक्षको भनाई छ ।

जसपा र संघीय समाजवादी पार्टीको नाटकीय ढंगबाट एकीकरण भएको थियो ।

समाजवादीका केही सांसद्ले पार्टी फुटाउन खोजेपछि बाबुरामकै पहलमा रातारात एकीकरण गरिएको थियो ।

तर, बाबुरामलाई मुख्य नेतृत्व दिन महन्थ पक्ष तयार भएन, बाबुरामलाई चौथो नम्बरको नेतामा खुम्चाइएको थियो ।

‘चौथो नम्बरको नेता बन्न परेको रिस बाबुरामले पोख्नुभयो, बाहिर पार्टी एकताको कुरा गर्ने तर भित्रभित्रै फुटाउनका लागि सबैभन्दा ठूलो भूमिका बाबुरामको छ’– महन्थ पक्षका नेताहरुको भनाई छ ।

अब एउटा सानो समूह लिएर प्रचण्ड नेतृत्वको माओवादीमा मिसिन जाने बाबुरामको योजना रहेको उनीहरुको दावी छ ।

‘अझै पनि बाबुरामलाई छाडेर उपेन्द्र आउनुहुन्छ भने अहिलेको सबै विवाद हल हुन्छ र पार्टी एकता बचाउन सकिन्छ’– जसपाका एक जिम्मेवार नेताले बताए ।

 


Last Updated on: June 8th, 2021 at 10:20 pm
११८ पटक हेरिएको

तपाईको प्रतिक्रिया