आइतबार १० आश्विन २०७८

काठमाडौं :

वैशाख ३० गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पार्टीभित्रको विवाद हल गर्न कार्यदल बनाउने सहमति भयो।

चार घण्टा भएको छलफलमा ओली र नेपाल विवाद समाधानका लागि कार्यदल बनाउन सहमत भएका भए।

वरिष्ठ नेता नेपालले आफ्नो ६ बुँदे प्रस्तावबाट पछि नहट्ने अडान लिएपछि ओलीले ‘ठिकै छ’ भन्ने सहमति दिए।

२०७५ जेठ २ गतेको पार्टी कमिटी, विधान र नेतृत्वमा फर्कनुपर्ने तथा २८ फागुनयता भएको निर्णय फिर्ता गर्नुपर्ने अडान राखेका वरिष्ठ नेता नेपाललाई अध्यक्ष ओलीले अर्को एउटा एजेण्डा निकालेर अल्मल्याउन खोजे।

मन्त्री बन्नेको सूची पनि ओलीकै
वरिष्ठ नेता माधवकुमार नेपालले आफूले राखेका ६ बुँदामा केन्द्रित हुन आग्रह गरिरहँदा ओली मन्त्री बन्नेको नाम दिन आग्रह गरिरहेका थिए।

वरिष्ठ नेता नेपालले उक्त बैठकपछि फर्किएपछि आफूनिकट नेताहरूसँग भनेका थिए, ‘मन्त्रीको सूची नै बनाइसकेका रहेछन् केपीजीले।’

ओलीले नेपाललाई ४ जनाको नाम मन्त्रीका लागि दिन आग्रह गरे।

‘सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट र घनश्याम भुसाललाई पठाउनुस्,’ ओलीले नेपाललाई भने।

रावलसँग तर्सिए ओली, झाँक्रीको नाम सुन्दा मौन
वरिष्ठ नेता नेपालले मन्त्रिपरिषदमा समान भागबण्डा हुनुपर्ने र ४ जनाले नहुने बताउँदै आएका छन्।

श्रोतका अनुसार एमाले उपाध्यक्ष भीमबहादुर रावल र नेतृ रामकुमारी झाँक्रीको नाम पनि उक्त बैठकमा नेता नेपालले लिएका थिए।

तर, उपाध्यक्ष रावललाई मन्त्री बनाउने पक्षमा ओली छैनन्। रावलको नाम आउने बित्तिकै अरु नयाँलाई पालो दिनुपर्छ भन्दै ओली तर्किएका थिए।

ओलीमाथि कटाक्ष गरिरहेकी नेतृ झाँक्रीको नाम उनले आपत्ति प्रकट गरेनन्।

‘प्रधानमन्त्रीजीले आफ्नो विरोधमा रहेका केही नेताहरूलाई मन्त्री पद लिएर उनीहरूको मुख बन्द गर्ने प्रयास गरिहनु भएको छ,’ बालुवाटार श्रोतको भनाई छ।

तर, रावललाई मन्त्री पदमा लाँदा सरकार सञ्चालनमै झन वितण्डा गर्ने निष्कर्ष बालुवाटारको छ।

यसैबीच, नेपाल समूहले सहमति कार्यान्वयन नभएसम्म मन्त्रीको सूची नपठाउने प्रष्ट पारेको छ।

कार्यदलले सहमतिको प्रस्ताव ल्याएपछि मात्रै अरु विषयमा छलफल हुने नेता नेपालले बताएका छन्।

पार्टी एकता प्राथमिकता होः भट्टराई
एमाले सचिव योगेश भट्टराईले अहिले आफूहरूको प्राथमिकता पार्टीको एकता रहेको बताएका छन्।

मन्त्री को बन्ने भन्ने विषय प्राथमिकतामा नरहेका प्रष्ट पारे।

‘पार्टी एकता हाम्रो प्राथमिकता हो, मन्त्री पद तपशिलको विषय हो,’ सचिव भट्टराईले भने, ‘पार्टी अध्यक्ष र वरिष्ठ नेताबीच सम्पूर्ण विषयमा उठेका सवालको समाधान निस्किएपछि अन्य विषयमा छलफल हुन्छ।’

 


Last Updated on: May 15th, 2021 at 10:35 pm
२४० पटक हेरिएको

तपाईको प्रतिक्रिया