आइतबार १० आश्विन २०७८

काठमाडौं :

सत्तारुढ दल नेकपा एमाले भित्रको आन्तरिक विवादले नेताका दौडधुप तीब्र बनेको छ ।

स्रोतका अनुसार नयाँ सरकार बनाउन सहजताका लागि एमालेको माधवकुमार नेपाल पक्षका २० सांसदले राजीनामा गर्ने भएका छन् ।

राजीनामापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार बनिसकेपछि उपनिर्वाचन गरेर ती ठाउँमा पुनः नेपाल पक्षकै नेतालाई कांग्रेस, माओवादी र जसपाले साझा उम्मेदवार बनाएर विजयी गराउने रणनीति बुढानीलकण्ठमा बनेको छ ।

प्रधानमन्त्री ओली आफ्नो अडानबाट पछि नहटे नेपाल पक्षले नयाँ दल दर्ता गराउने छ ।

सोहीमार्फत नेपाल पक्ष उपनिर्वाचनमा महागठबन्धन बनाएर होमिने छ ।

राष्ट्रियसभा उपनिर्वाचनजस्तै ओलीविरुद्ध अन्य दल एकजुट भएर अघि बढ्ने योजनामा सबै सहमत रहेको स्रोतको दाबी रहेको छ ।

नेपाल पक्षले कांग्रेस, माओवादी र जसपाको सहयोगमा राष्ट्रियसभा सदस्यमा खिमलाल देवकोटालाई उम्मेदवार बनाएपछि ओली पक्ष तनावमा रहेको छ ।

गृहमन्त्री समेत रहेका रामबहादुर थापा ‘बादल’लाई उम्मेदवार बनाउने निश्चित गरेको ओली समूहले अहिले कसलाई उम्मेदवार बनाउने भन्नेबारे कुनै निर्णय गर्न सकेको छैन ।

देवकोटालाई विजयी बनाउन तथा प्रधानमन्त्री ओलीविरुद्ध मत हाल्ने विषयमा देउवा, नेपाल, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जसपा अध्यक्ष उपेन्द्र यादवबीच निरन्तर छलफल जारी रहेको छ ।

आफूविरुद्ध एमाले नेपाल पक्ष, देउवा, प्रचण्ड, जसपाको उपेन्द्र यादव सहितको संयुक्त गठबन्धन बनेपछि प्रधानमन्त्री ओली आत्तिएका छन् ।

नेपाल पक्षका नेतालाई गरिएको कारवाही तत्काल फुकुवा गरेर पूरा गर्नैपर्ने माग सम्बोधन गर्दै पार्टी एकता जोगाउन ओलीलाई सोही समूहका नेताले दबाब समेत दिइरहेका छन् ।

एमाले नेता ज्ञवाली, नेम्वाङसहितका नेताले ओलीलाई पार्टी एकता जोगाउन भन्दै आन्तरिक दबाब दिँदै आएका छन् ।

नेपाल पक्षसँग मिलेर अघि बढ्दा तथा जसपाको ठाकुर, महतोसँग गठबन्धन गरेर पछि सरकार पनि जोगिने र पार्टी एकता समेत जोगाउन सकिने मूल्यांकन यी नेताको रहेको छ ।

पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधवकुमार नेपाललाई फकाउन गरेको प्रयास असफल भएपछि विवाद झन् बढ्दै गएको छ ।

प्रधानमन्त्री ओली संसदमा वैशाख २७ गते विश्वासको मत लिँदैछन् ।

आगामी जेठ ६ गते हुने बाग्मती प्रदेश तर्फको राष्ट्रियसभा सदस्यको उपनिर्वाचन हुँदैछ । यी २ विषय केन्द्रित छलफल जारी छ ।

ओली आफूलाई विश्वासको मत दिनुका साथै उपनिर्वाचनमा नेपाल पक्षले विना शर्त सहयोग गर्नुपर्ने अडानमा रहेका छन् ।

तर नेपाल पक्ष पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काएर नयाँ ढंगले अघि बढ्नुपर्ने अडान राख्दै आएको
छ ।

एमाले धेरै नै अघि बढिसकेकाले फर्किन नसक्ने अडान ओलीको रहेको छ ।

शीर्ष नेताको अडानबीच पार्टी एकता कायम राख्दै अघि बढ्ने विषयमा दोस्रो तहका नेता आन्तरिक छलफलमा रहेका छन् ।

शुक्रवार ओली पक्षका नेता ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङ, विष्णु रिमाल र नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्टबीच छलफल भएको छ ।

‘पार्टी एकता जोगाउने विषयमा केही समययता हामीबीच सामूहिक तथा छुट्टाछुट्टै छलफल भइरहेको छ,’ छलफलमा सहभागी एक नेताले भने, ‘अझै केही सहमति भएको छैन, जुटाउने विषयमा केन्द्रित छौं ।’

पार्टी एकता जोगाउन राष्ट्रपति विद्यादेवी भण्डारी समेत सक्रिय भएको बुझिएको छ ।

शीर्ष नेता अडानबाट टसमस नभएपछि पार्टी नै विभाजन हुने निश्चित भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले समेत नेताबीच सहमति गराउन पहल गरिरहेको स्रोतले दाबी रहेको छ ।

राष्ट्रपति शितलनिवासमा प्रधानमन्त्री ओली र नेता नेपाल बोलाएर भण्डारीले छलफल गरिसकेकी छन् ।

तर राष्ट्रपति साक्षी राखेर छलफल भएपनि कुनै किसिमको सहमति जुट्न सकेको छैन ।

नेता नेपालले छलफल जारी रहे पनि कुनै किसिमको सहमति नजुटेको जनाएका छन् ।

पार्टी विधि, प्रक्रिया, विधानअनुसार चल्नुपर्ने अडान राख्दै आएका उनले पार्टी एकताका लागि वार्ता र चलकता दुबै अपनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौं, किनकि यो हामीले निर्माण गरेको पार्टी हो ।

यसका लागि वार्ता र लचकता दुबै अपनाउँछौं तर अहिलेसम्म कुनै सहमति भएको छैन,’ नेपालले आफ्नो फेसबूकमा लेखेका छन्, ‘२०७७ फागुन २८ गते र तत्पश्चात् बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनुपर्छ र २०७५ जेठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटमलाइन हो ।

यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न, नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान् अभियानमा लागिरहन आह्वान गर्दछौं ।’

सहमति जुटाउन १ हप्तादेखि छलफल तीव्र छ । नेताहरुले दिनरात छलफल भइरहेको भए पनि कसरी मिलाएर अगाडि बढ्ने ? विषयमा ठोस सहमति जुटाउन सकिरहेका छैनन् ।

यसैबीच, नेताबीच छलफल भइरहेकै बेला शुक्रवार साँझ उपप्रधानमन्त्री समेत रहेका एमाले महासचिव ईश्वर पोखरेल राष्ट्रपति भेट्न शितलनिवास पुगेका छन् ।

अहिलेसम्म भएका छलफलबारे जानकारी गाराउँदै पार्टी एकताका लागि पहल गर्न आग्रह गरिएको छ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

 


Last Updated on: May 8th, 2021 at 8:12 pm
१८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया