शुक्रबार ०४ आषाढ २०७८

सुर्खेत

कर्णाली प्रदेशसभामा अब नेपाल कम्युनिस्ट पार्टी (एमाले)को एकल बहुमत पुगेको छ। सांसद धर्मराज रेग्मी पदमुक्त भएसँगै कर्णालीमा सरकार बनाउन एमालेलाई बहुमत पुगेको हो।

दैलेख निर्वाचन क्षेत्र नम्बर १ ‘क’ बाट निर्वाचित सांसद रेग्मी सोमबारदेखि पदमुक्त भएका हुन्। रेग्मीलाई उनी निर्वाचित दल माओवादी केन्द्रले कारबाही गरेसँगै कर्णाली प्रदेशसभामा सांसदको संख्या ३९ मा झरेको छ। उनी नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेपछि कारबाहीमा परेका हुन्।

कर्णालीका ३९ सांसदमध्ये सभामुखसहित एमालेका २० सांसद छन्। सरकार गठनका लागि २० जना सांसदको समर्थन आवश्यक पर्छ।

प्रदेशसभा सभामुख राजबहादुर शाहीसहित एमालेका २० र एमाले बाहेकका १९ (माओवादी केन्द्र १२, काँग्रेस ६ र राप्रपाका १) सांसद् छन्।

सभामुखबाहेक एमाले एकतिर र अन्य तीन दल अर्कातिर हुँदा सांसदको संख्या १९-१९ हुन पुग्छ।

बराबर सांसद भएको खण्डमा सभामुखले निर्णायक मत दिन पाउने कानुनी व्यवस्था छ। यसरी एमालेले अब कर्णालीमा एकल सरकार बनाउन सक्ने देखिएको हो।

ओली-माधव समूह एकमत
कर्णालीमा एमालेका केपी शर्मा ओली र माधवकुमार नेपाल समूहका सांसदहरु एक ढिक्का भएको खण्डमा एकल सरकार बन्न सक्ने संभावना भएपछि यो प्रदेशमा एमाले एकमत देखिन्छ।

नयाँ सरकार गठनको आधार तयार गर्नकै लागि चैत २४ गते एमालेबाट सरकारमा सहभागी भएका मन्त्रीहरू प्रकाश ज्वाला, दल रावल र नन्दसिंह बुढाले राजीनामा गरेका थिए।

एमालेका दुवै पक्षका नेताहरूले पार्टीको केन्द्रमा विविध समस्या भएपनि कर्णालीमा भने नयाँ सरकार बनाउने विषयमा आफूहरू एकमत रहेको बताएका छन्।

‘अहिलेसम्म एमालेका सबै सांसद एकै ठाउँमा छौँ,’ नेपाल समूहका नेतासमेत रहेका पूर्वमन्त्री ज्वालाले भने, ‘पार्टी एकता भने हामी एक्लैले गरेर सम्भव छैन। नयाँ सरकार बनाउने विषयमा विवाद छैन।’

सांसदहरु एकमत भएकै कारण आफूहरुले संसदीय दलको निर्णय अनुसार सरकारबाट बाहिरिएको उनको तर्क छ।

नेपाल निकटकै अर्का सांसद अम्मर थापाले पनि नयाँ सरकार गठनका लागि एमाले एक ठाउँमा उभिएको बताउँछन्।

‘नयाँ सरकार गठनका लागि एमालेका सांसद एकै ठाउँमा छौँ,’ सांसद थापाले भने, ‘केन्द्रमा जस्तो कर्णालीमा दुईतिर छैन।’

सोही समूहका अर्का सांसद सुशील थापाले पनि नयाँ सरकार गठनका लागि एमाले एकै ठाउँमा उभिएको दाबी गर्छन्।

‘एउटै पार्टी भएपछि अर्को पक्षमा उभिने भन्ने हुँदैन,’ उनले भने, ‘अब एमाले संसदीय दलका नेता यामलाल कँडेल नै मुख्यमन्त्री बन्नुहुन्छ।’

ओली समूहका नेता कँडेलेले पनि अहिलेसम्म एमालेका सबै सांसद एकमत भएको बताउँछन्। ‘म त एमालेका सबै साथीहरु एकै ठाउँमा देख्छु,’ उनी भन्छन्, ‘पार्टीको निर्णय विपरीत सांसदहरू अवस्था अहिलेसम्म देखिएको छैन।’

यद्यपि नयाँ सरकार गठनको विषय भने वैशाख ३ गतेपछि मात्रै टुंगिने उनको भनाई छ। ‘मुख्यमन्त्रीलाई विश्वासको मत लिने अधिकार छ।

उहाँले विश्वासको मत लिनका लागि भोट माग्दै हुनुहुन्छ होला,’ कँडेलले भने, ‘वैशाख ३ गतेपछि मात्रै नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्छ।’

 


Last Updated on: April 15th, 2021 at 8:24 pm
२९१ पटक हेरिएको

तपाईको प्रतिक्रिया