आइतबार ०६ आषाढ २०७८

काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरबाट माओवादीका केही नेतालाई एमालेमा प्रवेश गराइसकेका छन् ।

अझै ३० भन्दा बढी नेताहरु एमालेमा प्रवेश गर्ने तयारीमा रहेको प्रधानमन्त्री ओलीले आफू निकटस्थलाई बताएका छन् ।

प्रधानमन्त्री ओलीनिकट स्रोतले भन्यो, ‘प्रधानमन्त्रीज्यू देशैभरिका ३० भन्दा बढी माओवादी नेताहरुको नामलिस्ट नै बोकेर बस्नुभएको छ ।’

एमाले र माओवादी विभाजित भएपछि संसदीय सरकारमा मन्त्रीसमेत बनेका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, मणि थापा, गौरीशंकर चौधरी, दाबा लामा एमालेमा प्रवेश गरिसकेका छन् ।

माओवादीले कारवाही गरेपछि प्रधानमन्त्री ओलीले उनीहरुलाई पुनः मन्त्री बनाएका छन् ।

पूर्वएमालेका त्यागी नेताहरुलाई अवसर नदिएर भए पनि ओलीले नवप्रवेशीहरुलाई सत्तामा प्रथामिकता दिएका छन् ।

काठमाडौं बाहिर प्रदेशस्तरमा पनि माओवादीबाट एमालेमा प्रवेश गर्ने क्रम देखिएको छ । पाँचथरका पुराना माओवादी नेता एवं पूर्वराज्यमन्त्री श्रीप्रसाद जबेगू एमालेमा प्रवेश गरेका छन् ।

ताप्लेजुङका माओवादी नेता एवं प्रदेश सांसद टंकबहादुर आङबुहाङ एमालेमा प्रवेश गरेर प्रदेश १ को अर्थमन्त्री बनेका छन् ।
youtube.com/watch?v=GUvwVtwCsQE&t=68s
त्यस्तै प्रदेश २ बाट पनि माओवादीका चारजना प्रदेशसभा सदस्यहरु एमालेमा प्रवेश गरेका छन् ।

माओवादीले चारैजनालाई सांसदबाट कारवाही गरेको छ । प्रदेश २ मा माओवादीका ११ सांसद रहेकोमा अब ७ जना बाँकी छन् ।

लुम्बिनी प्रदेशमा पनि माओवादीका दुईजना सांसदहरु एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई पनि पार्टीले निष्कासनको कारवाही गरिसकेको छ ।

माओवादी सांसदहरु दधिराम न्यौपाने र दिनेश पन्थी एमालेमा प्रवेश गरेसँगै उनीहरुको सांसद पद गुमेको छ ।

माओवादीका सांसद घटाउने खेल \; माओवादीमा रहेका सांसदहरुलाई एमालेमा तानेपछि माओवादीले उनीहरुलाई कारवाही गर्ने गरेको छ । यसले गर्दा संघ र प्रदेश दुबै ठाउँमा माओवादीको सांसद संख्या घट्दै गएको छ ।

अर्कोतर्फ, माओवादीबाट नेताहरु एमालेको ओली समूहमा प्रवेश गर्न थालेको सन्देश प्रवाह गरेर प्रधानमन्त्री ओलीले माओवादीप्रति मनोवैज्ञानिक प्रहारको नीति लिएको देखिन्छ ।

माओवादीका सांसदहरुको संख्या घट्दै जाँदा विपक्षी गठबन्धनको गणित कमजोर हुने र एमालेको सरकार टिकाउन सजिलो हुने विश्लेषण एमाले नेताहरुले गर्दै आएका छन् ।

बालुवाटार स्रोतले भन्यो, ‘अब यो क्रम जारी रहन्छ । निर्वाचनका बेलासम्म माओवादीका धेरै नेताहरु एमालेमा आउँछन्, प्रधानमन्त्रीजीले नेताहरुको सूची नै बनाइसक्नुभएको छ, समय आएपछि उनीहरुलाई पार्टी प्रवेशको घोषणा गराइने प्रधानमन्त्रीले बताउनुभएको छ ।’

माओवादीबाट एमालेमा प्रवेश गरेर हाल खानेपानी मन्त्री बनेका मणि थापा आगामी चुनावसम्म जाँदा माओवादीबाट एमालेमा प्रवेश गर्ने क्रम अरु बढ्ने दाबी गर्छन् ।

माओवादीका कार्यकर्ताहरु किन एमालेमा प्रवेश गर्न थालेका होलान् ? भन्ने रातोपाटीको प्रश्नमा मन्त्री थापाले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डमा केही पनि वैचारिक भिन्नता रहेन ।

अब माओवादी आन्दोलन पुनर्संगठित भएर राष्ट्रिय राजनीतिको केन्द्रमा मूल प्रवाह बन्ने आशा कम देखिएकाले माओवादी छाडेर एमालेमा आउने क्रम बढेको हो ।’

 


Last Updated on: April 14th, 2021 at 10:05 pm
२२२ पटक हेरिएको

तपाईको प्रतिक्रिया