शुक्रबार ०४ आषाढ २०७८

नेकपा माओवादी केन्द्र छाडेर गएका सांसदहरु कारबाहीमा परेका छन् । नेकपा भंग भएर माओवादी ब्युँतिँदा पनि पार्टीमा नफर्किएका सांसदहरुलाई माओवादीले कारबाही गरेको हो ।

माओवादीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा मन्त्री रहेका प्रतिनिधिसभाका सांसदहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीको सांसद पद खोसेको हो । माओवादीले यसको जानकारी संसद् सचिवालयलाई गराइसकेको छ ।

त्यस्तै, लुम्बिनी प्रदेशसभाका सदस्यहरु र प्रदेश नम्बर–१ का सदस्यलाई पनि कारबाही गरिएको छ । नेकपा एमालेमा गएकाहरु कारबाहीमा परेका हुन् ।

उता, एमाले अध्यक्ष ओलीले माधवकुमार नेपालसहित एमालेका चार नेतालाई ६ महिना निलम्बन गरेका छन् ।

निलम्बनको पत्रमा ‘ओलीले सांसद पद बाँकी नै रहेको छ भनेर तर्साउन खोजेको’ नेता नेपालले टिप्पणी गरेका छन् ।

मंगलबार वाग्मती प्रदेशको समानान्तर कमिटी गठन गर्दै नेता नेपालले सांसद पद जान्छ भनेर आफूहरु नडराउने बताएका थिए ।

यस्तो अवस्थामा जान्छ पद
सांसद पद मुख्य गरी तीन अवस्थामा जाने गर्छ । दल त्याग गरेमा, आफू संलग्न भई अर्को दल खोलेमा र अर्को दलको सदस्यता लिएमा दल त्याग गरेको मानिन्छ ।

संघ, प्रदेशमा निर्वाचित सांसदको हकमा राजनीतिक दलसम्बन्धी ऐनको दफा ३१ मा व्यवस्था गरिएको छ ।

दफा ३१ मा संघीय संसद्को सदस्य, प्रदेशसभाको सदस्यले सांसद पदको पदावधि कायम रहेसम्म जुन दलको उमेदवार भई निर्वाचित भएको हो, त्यो दल त्याग गर्न सक्ने÷नसक्ने उल्लेख छ ।

तर, दफा ३१ को (१) अनुसार सो अवधिमा दल त्यागे, दल त्यागेको मितिदेखि सांसद पद स्वतः रिक्त भएको मानिनेछ ।

ऐनमा पार्टीले लगाएको ह्वीप उल्लंघन गरेमा पनि दल त्याग गरेको मानिने उल्लेख छ । संसदीय दलको नेताको निर्देशनबमोजिम दलको सचेतकले आफ्ना सांसदलाई पक्ष वा विपक्षमा मतदान गर्न निर्देशन दिन सक्ने व्यवस्था छ  ।

सरकारको विश्वास वा अविश्वासको प्रस्तावमा, सरकारको नीति तथा कार्यक्रम स्वीकृत गर्दा, वार्षिक बजेट पारित गर्दा तथा राष्ट्रिय वा सार्वजनिक महत्त्वको अन्य कुनै विषयमा मात्रै त्यस्तो निर्देशन दिन सकिने व्यवस्था ऐनमा छ  ।

राजनीतिक दलसम्बन्धी दफा २८ मा त्यस्तो निर्देशन संसदीय दलका प्रत्येक सदस्यले पालना गर्नुपर्ने भनिएको छ । ह्वीप उल्लंघन गरेमा सदस्यको विवरण सचेतकले सम्बन्धित दलको केन्द्रीय समितिलाई दिनुपर्छ ।

सोही विवरणका आधारमा दलको दफा ३२ (२) अनुसार केन्द्रीय समितिले त्यस्ता सदस्यलाई दलबाट निष्कासन गर्न सक्नेछ । यसरी निष्कासित सदस्य सम्बन्धित दलबाट समेत निष्कासनमा परेको मानिनेछ ।

 


Last Updated on: April 8th, 2021 at 8:55 pm
१८९ पटक हेरिएको

तपाईको प्रतिक्रिया