शुक्रबार ०४ आषाढ २०७८

काठमाडौं

नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा लागेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीका भाइ तोजबहादुर रायमाझी ‘विधान’लाई ठूलो पद दिइएपछि पार्टीभित्र विद्रोह भएको छ ।

नेकपा एमालेका निर्वाचित जिल्ला सचिव रामबहादुर चौहानलाई नेकपा एमालेले जिम्मेवारीबाट हटाएर रायमाझी विधानलाई सचिव बनाएपछि विवाद उत्कर्षमा पुगेको छ । रायमाझी माओवादी केन्द्रबाट एमालेमा लागेका मन्त्री टोपबहादुर रायमाझीका भाइ हुन् ।

जिल्ला सचिवबाट हटाइएपछि नेकपा एमालेको माधवकुमार नेपाल पक्षले समानान्तर कमिटी बनाएको छ । नेपाल पक्षको भेलाले रामबहादुर चौहानको अध्यक्षतामा समानान्तर कमिटी गठन गरेको छ ।

नेपाल पक्षको समानान्तर कमिटीमा साविक एमालेका निर्वाचित जिल्ला सचिव चौहान, उपसचिव प्रेम गैरे लगायत रहेका छन् ।

शनिवार जिल्ला भेला गरेर आफ्नो नेतृत्वमा ७२ सदस्यीय जिल्ला कमिटी गठन गरिएको नेता रामबहादुर चौहानले जानकारी दिएका छन् ।

चौहानले २०७५ सालमा निर्वाचित जिल्ला कमिटी अध्यक्ष चेतनारायण आचार्यलाई कारबाही गरिसकिएको दाबी गरेका छन् ।

नेकपा एमालेको ओली पक्षीय जिल्ला कमिटीमा २०७५ सालमै निर्वाचित अध्यक्ष चेतनारायण आचार्य रहेका छन् । आचार्य एमालेको केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य समेत रहेका छन् ।

नेकपा एमालेका लुम्बिनी प्रदेश अध्यक्ष लिला गिरीले पार्टी हित विपरीत गुटगत भेला गरेर कारबाहीमा परेकाहरू एमालेको नेतृत्वमा बस्न नसुहाउने बताएका छन् ।

‘अर्घाखाँचीमा पार्टीले कारबाही गरेका नेता दुमनसिंह थापा, पिताम्बर भुसालको सक्रियतामा पार्टीलाई कमजोर बनाउने, गुटगत भेला गर्ने काम भएको छ, यस्तो काममा लाग्ने, नेतृत्व गर्ने सबैलाई तत्काल कारबाही हुन्छ,’ गिरीले भने ।

उनले तत्काल कारबाही गर्न जिल्ला कमिटीलाई निर्देशन दिइसकेको बताएका छन् ।

अर्घाखाँची जिल्लामा माओवादी केन्द्रबाट नेता टोपबहादुर रायमाझी, राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का एमालेमा आएर जिम्मेवारी पाएपछि माधव नेपाल पक्ष त्रसित बनेको छ ।

 


Last Updated on: April 4th, 2021 at 7:04 pm
८८ पटक हेरिएको

तपाईको प्रतिक्रिया