आइतबार ०६ आषाढ २०७८

काठमाडौं

नेकपा एमालेभित्र विभाजनको रेखा कोरिएका बेला देशभर समानान्तर गतिविधि अगाडि बढेका छन् ।

एमाले नेता माधवकुमार नेपाललाई अध्यक्ष केपी शर्मा ओलीले ६ महिनाका लागि साधारण सदस्यबाटै निलम्बन गरेपछि विवाद झन् उत्कर्षमा पुगेको छ ।

यस्तै बेला नेता नेपाल र बामदेव गौतम पक्षले मिलेर गोरखा जिल्लामा समानान्तर जिल्ला कमिटी गठन गरेका छन् ।

जिल्ला उपाध्यक्ष रहेका यादव बस्नेतको अध्यक्षतामा समानान्तर जिल्ला कमिटी गठन भएको छ । बस्नेत बामदेव गौतम निकट नेता मानिन्छन् ।

नेकपाभित्र विवाद हुँदा बस्नेत प्रचण्ड–नेपाल पक्षमा लागेका थिए । ओली पक्षले बस्नेतलाई नेकपा केन्द्रीय कमिटी सदस्य समेत बनाएको थियो ।

बस्नेतले ओलीको केन्द्रीय सदस्य पद अस्वीकार गरेका थिए ।

सोमबार गोरखामा भएको वरिष्ठ नेता झलनाथ खनाल, नेपाल र गौतम पक्षका नेता तथा कार्यकर्ताको भेलाले यादव बस्नेतको अध्यक्षतामा ६४ सदस्यीय समानान्तर जिल्ला कमिटी गठन गरेको छ ।

नयाँ अध्यक्षसँगै अब बेग्लै पार्टी कार्यालय समेत सञ्चालन गर्ने तयारी रहेको जनाइएको छ ।

समानान्तर कमिटीलाई अध्यक्ष ओली पक्षका जिल्ला अध्यक्ष प्रेम गुरुङले अवैध ठहर गरेका छन् ।


Last Updated on: March 30th, 2021 at 7:35 pm
१०८ पटक हेरिएको

तपाईको प्रतिक्रिया