शुक्रबार ०४ आषाढ २०७८

काठमाडौं

नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईसँग पटक–पटक भेटघाट गरेको खुल्न आएको छ ।

निरन्तरका भेटबाट प्रचण्डले भट्टराईसँगको पुरानो सम्बन्धलाई पुनः दोहोर्‍याउन खोजेको प्रस्ट देखिएको छ । अहिले अलग–अलग दलमा भए पनि यी दुवै नेता शीर्ष स्थानमा छन् ।प्रचण्ड–भट्टराई सम्बन्ध निकै पुरानो हो ।

१० वर्षे माओवादी जनयुद्धभर उनीहरु एकै ठाउँमा रहे । माओवादी शान्ति प्रक्रियामा आएपछि भने उनीहरु लामो समय सँगै रहन सकेनन् ।

राजनीतिक रुपमा टकराव हुन थालेपछि उनीहरुबीचको सम्बन्धमा दरार आयो । त्यसपछि भट्टराईले तत्कालीन माओवादी पार्टी त्यागेर नयाँ शक्ति नामक अर्को पार्टी खोले ।

त्यसको केही समयपछि उनले तत्कालीन मधेसी जनअधिकार फोरमसँग आफ्नो पार्टीलाई एकीकृत गराए ।तत्कालीन माओवादीमा रहँदैखेरि प्रचण्ड–भट्टराईबीच पैदा भएको तिक्तता लामो समय कायम रह्यो ।

पछिल्लो समय भने भट्टराईसँग विगतमा बिग्रिएको सम्बन्धलाई पुनर्ताजगीकरण गर्ने प्रयासमा प्रचण्डले सक्रियता बढाएका हुन् ।

डा. भट्टराईका सहयोगी रोशन पोखरेलका अनुसार एक/डेढ महिनाका बीचमा प्रचण्ड–भट्टराईबीच ३ पटक एक्लाएक्लै भेटवार्ता भइसकेको छ ।

उनीहरुबीच अरु संयुक्त भेटघाट भने धेरैपटक भएको हुनसक्ने आकलन उनले गरेका छन् ।भेटको उद्देश्य केपी ओली नेतृत्वको वर्तमान सरकार ढाल्ने र अहिलेको संकटलाई निकास दिनेमै केन्द्रित हुने गरेको उनले बताए ।

करीब डेढ महिनाअघि तत्कालीन नेकपा प्रचण्ड–नेपाल पक्षले पहिलोपटक काठमाडौंमा प्रदर्शन गरेको दिन प्रचण्डले भट्टराईलाई भेटेका थिए ।

भेटघाटको चाँजोपाँजो उपराष्ट्रपति नन्दकिशोर पुनले मिलाएका थिए । माओवादी जनयुद्धताका प्रचण्ड, भट्टराई र पुनबीच विशेष सम्बन्ध रहेको बताइन्छ । भेटघाट उपराष्ट्रपति निवासमै भएको थियो ।

त्यसको केही समयपछि प्रचण्ड फेरि टोखास्थित भट्टराई निवासमै पुगेका थिए । पछिल्लो भेट अघिल्लो शनिवार भएको थियो । सो दिन पनि प्रचण्ड भट्टराई निवासमै पुगेका थिए ।

पछिल्लो राजनीतिक खिचातानीमा भट्टराईले प्रचण्डलाई साथ दिँदै आएका छन् । प्रचण्ड कुनै पनि अवस्थामा ओली सरकार ढाल्न चाहन्छन् ।

त्यसका लागि उनले जसपाको साथ खोजेका छन् । कसलाई साथ दिने भन्ने विषयमा जसपा विभाजित छ । भट्टराईलाई जसपाका अध्यक्ष उपेन्द्र यादवले साथ दिएका छन् ।

जसपाभित्रको विवादमा भट्टराई र यादव एकै ठाउँमा उभिएका छन् भने महन्थ ठाकुर र राजेन्द्र महतो अर्को कित्तामा छन् । भट्टराई र यादवका कारण जसपा प्रधानमन्त्री केपी ओली कित्तामा जान सकेको छैन ।

भट्टराई र यादव कुनै पनि अवस्थामा ओलीसँग मिलेर सरकार बनाउने पक्षमा छैनन् । यी २ नेता अहिले माओवादी केन्द्रसँग निकट मानिएका छन् । त्यसो त जसपाका अध्यक्ष यादवसँग पनि प्रचण्डको पुरानो सम्बन्ध हो ।

कुनै बेला यादव पनि तत्कालीन माओवादी पार्टीमै आवद्ध थिए । माओवादी जनयुद्धकै बेला उनी माओवादी पार्टीबाट अलग भएका थिए र मधेशी जनअधिकार फोरम गठन गरेका थिए । विभिन्न राजनीतिक आरोह–अवरोहसँगै अहिले भट्टराई र यादव एकै पार्टीमा आइपुगेका छन् ।

भट्टराईका सहयोगी पोखरलले दाहालले भट्टराईलाई भेट्नुको मुख्य उद्देश्य पुरानो सम्बन्धलाई स्मरण गराउनुभन्दा पनि समसामयिक राजनीतिक विषयमा छलफल गर्नु रहेको बताएका छन् ।

‘उहाँहरुबीच पुरानो सम्बन्ध होला तर त्योभन्दा ठूलो अहिलेको संकटलाई कसरी टार्ने भन्ने विषयमा कुराकानी हुने गरेको छ,’ उनले भने ।

नयाँ सरकार निर्माणको विषयमा छलफल गर्न भट्टराई पनि पटक–पटक माओवादी पार्टी कार्यालय पेरिसडाँडा पुगेका छन् । यसबीचमा माओवादी केन्द्र र जसपाका नेताहरुबीच पटक–पटक कुराकानी भएको छ ।

जुन कुराकानीमा भट्टराई सहभागी हुने गरेका छन् । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

 


Last Updated on: March 21st, 2021 at 7:42 pm
११७ पटक हेरिएको

तपाईको प्रतिक्रिया