आइतबार ०६ आषाढ २०७८

काठमाडौं

नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले महाधिवेशनबाट निर्वाचित महासचिव बाहेकका पदाधिकारी हटाउने र माधवकुमार नेपाल पक्षीय नेताहरुको जिम्मेवारी खोस्ने अध्यक्ष केपी शर्मा ओलीको निर्णयलाई मुर्खतापूर्ण कदम भनेका छन् ।

ओलीले आफ्नो पक्षका नेताहरुको बैठक राखेर दशौं महाधिवेशनको मिति तोक्नुका साथै महासचिव बाहेकका

उनले माधव नेपाल पक्षीय नेताहरुको जिम्मेवारी खोस्नुका साथै माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादल समूहका २२ नेतालाई केन्द्रीय सदस्य मनोनित गरेका छन् ।

यसबारे प्रतिक्रिया दिँदै माधव नेपाल पक्षीय नेता भुसालले ओलीको निर्णय कुनै हालतमा मान्य नहुने बताएका छन् ।

यो कदमको राजनीतिक रुपमा भर्त्सना र निन्दा गर्नुका साथै कानूनी रुपमा च्यालेन्ज गर्ने भन्दै उनले भने, ‘सामान्यता ५० वर्ष अगाडि अफ्रिकी मुलुकहरुमा यस्तो हुन्थ्यो होला । हाम्रो मुलुकमा कुनै तानाशाहले पनि यो तहमा गरेको छैन ।’

स्थिर लोकतान्त्रिक विकासप्रति जगाएको विश्वासलाई बर्बाद पारेको भन्दै नेता भुसालले अनलाइनखबरसँग भने, ‘उहाँले दुई तिहाईको बहुमत र पार्टी एकता सक्नुभयो । संसदलाई हिँडाउन खोज्नुभयो ।

सक्नलाई एउटा मात्र बाँकी थियो, त्यो हिजोको पार्टी नेकपा एमाले ।’

एमाले स्थिर लोकतान्त्रिक विकासको कर्णाधार भएकाले ओलीले त्यसमाथि आक्रमण सुरु गरेको भुसालले बताए ।

यो लोकतान्त्रिक स्थिरताका साथ मुलुकले लिएको संकल्प र विश्वासमाथि भइरहेको आक्रमणमध्ये अन्तिम चरणको पहिलो किस्ता हुनसक्ने भन्दै उनले भने, ‘ओलीको यो कदम सफल हुने भनेको कम्युनिस्ट आन्दोलन र मुलुकले हार्ने कुरा हो ।’

एमाले अध्यक्ष ओलीको यस्ता कदमलाई परास्त गर्नसक्ने शक्ति समाज र एमाले पार्टीमा रहेको उनले बताए ।

‘ओलीजीका यस अगाडिका हर आक्रमणलाई परास्त गरेझैं यो आक्रमणलाई पनि परास्त गरिने छ’ एमाले उपमहासचिव भुसालले भने, ‘यो मुलुकको कम्युनिस्ट आन्दोलनमा एमालेले बनाएको जुन सामर्थ्य र जीवनशक्ति छ । त्यसलाई संगठित गरेर यसलाई परास्त गरिनेछ ।’

संसद विघटन, एमाले र माओवादी ब्युँताउने सर्वोच्च अदालतको फैसलापछि तेस्रो किस्ताका रुपमा यो कदम आएको भन्दै उनले न्यायिक र वैधानिक हिसाबले च्यालेन्ज गर्ने बताए ।

‘राजनीतिक हिसाबले त भर्त्सनायोग्य, निन्दायोग्य छ’ उनले भने ।

माधव नेपाल पक्षमा रहेका उपमहासचिव भुसालले कुनै न कुनै ठाउँमा लगेर ओलीलाई सुधार्न सकिन्छ वा ओलीजीको गलत प्रवृत्तिबाट पार्टीलाई मुक्त पार्न सकिन्छ भनेर अहिलेसम्म ओलीसँग रहेका नेताहरुले पनि यसबारे सोच्ने विश्वास व्यक्त गरे ।


Last Updated on: March 12th, 2021 at 7:42 pm
१२६ पटक हेरिएको

तपाईको प्रतिक्रिया