आइतबार ०६ आषाढ २०७८

फागुनको अन्तिम-अन्तिम आइपुग्दा चिसो सकिँदै गएको महसुस हुन थालेको छ । मौसमी चिसो सकिनै लाग्दा राजनीतिक सरगर्मी अत्यधिक बढेको छ ।

हुन त यो गर्मी पुस देखिनै बढेको हो । तर फागुन २४ गते राजनीतिक गर्मी अधिकतम बिन्दुमा रह्यो ।

सोमबार पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहका नेता-कार्यकर्ता आ–आफ्नै पूर्ववत् पार्टीमा फर्किने निष्कर्षमा पुगे ।

समूहको स्थायी कमिटीको अनौपचारिक बैठकले आ-आफ्नै पार्टीमा रहने निर्णय गर्‍यो।

माधवकुमार नेपालसहित झलनाथ खनाललगायतको समूह एमालेमा फर्किएको छ भने नेपालसँगको राजनीतिक ‘डिभोर्स’सँगै पुष्पकमल दाहालले माओवादी केन्द्रकै नेतृत्व गर्ने भएका छन्।

दाहाल र नेपालबिचको सम्बन्धमा अदालतले ‘ब्रेकअप’ लगाइदिएपछि उनी अलग हुन बाध्य भए ।

कानुनी रूपमा एमाले र माओवादी केन्द्रमा रहे पनि पार्टी एकताका लागि दुवैले पहल गर्ने निष्कर्ष उनीहरूको छ। २०७५ जेठ ३ मा भएको एकतालाई सर्वोच्चले अस्वीकार गरेपछि बाध्य भएर उनीहरू अलग्गिए ।

नेपाल समूहसँग एमालेको संसदीय दलमा ४० प्रतिशत सांसद नभएकाले उनीहरूले दल विभाजन प्रक्रिया रोज्दा सांसद पद नै त्याग्नुपर्ने स्थिति आउन सक्थ्यो।

यस्तोमा नेपाललाई साथ दिने सांसदको सङ्ख्या झन् घट्न सक्ने आकलन उनले गरेका थिए।

नेपाल समूहका धेरै नेता नाम र चुनाव चिह्न सूर्यप्रति पनि आकर्षित रहेकाले तत्कालै पार्टी छोडेर अर्कोमा जाँदा हुने राजनीतिक जोखिम मोल्न तयारसमेत नदेखिएपछि पूर्ववत् पार्टीभित्र सङ्घर्ष गर्दै अघि बढ्ने निष्कर्षमा पुगेका हुन्।

माओवादी के गर्ने ?

साबिक नेकपाको दाहाल–नेपाल समूहले आ-आफ्नो पूर्व पार्टीमा क्रियाशील हुने निर्णय गरे पनि ओली समूहमा गएका माओवादी केन्द्रका नेताहरूले निर्णय लिएका छैनन्।

माओवादी केन्द्रका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, मणि थापा, गौरीशंकर चौधरी र दाबा लामा अहिले पनि ओली सरकारका सदस्य छन्।

उनीहरू ओली नेतृत्वकै एमालेमा बस्छन् कि दाहाल नेतृत्वको पार्टीमै रहन्छन्, सबैले खुलेर बताएका छैनन्। केही मन्त्रीले भने पार्टी पूर्ववत् भए पनि आफूहरू ओलीको साथमा बस्ने बताइसकेका छन्।

सत्ता समीकरण ?

एमाले माओवादी अलग भएसँगै सरकार अल्पमतमा परेको छ । सरकारले अब विश्वासको मत लिनुपर्नेछ ।

नेकपा एमालेका अहिले १२१ सांसद छन् । सरकार बनाउन १३५ सांसद चाहिन्छ ।

अहिले कायम रहेका सांसद सङ्ख्या २७० मध्ये सरकारको पक्ष/विपक्षमा कम्तीमा १३५ सांसद आवश्यक पर्छन् । प्रधानमन्त्री केपी ओलीले काँग्रेस वा जनता समाजवादी पार्टीको समर्थनमा सरकार बचाउन सक्छन् ।

एमालेलाई जसपा (३४)ले समर्थन गरे सरकार बन्छ वा काँग्रेसले समर्थन गरेमा पनि सरकार बन्छ ।

त्यस्तै, विकल्पमा काँग्रेस, माओवादी केन्द्र र जसपाको गठबन्धन बने सरकार बनाउन सक्छन् । प्रतिनिधिसभामा माओवादी केन्द्रका ५३ सांसद छन् ।

त्यस्तै, नेमकिपा, राप्रपा, राजमो र स्वतन्त्र एक–एकसहित प्रतिनिधिसभामा दुई सय ७५ सिट छन् । तीमध्ये चार सांसद निलम्बित रहेको र एक सांसदको निधन भएको छ ।

२०७२ सालमा नेकपा एमालेको नवौँ महाधिवेशनबाट भएको थियो । महाधिवेशन भएको तीन वर्षमै अध्यक्ष ओलीले तत्कालीन नेकपा एमाले र तत्कालीन माओवादीबिच एकीकरण गराए । एमाले विघटन भयो । माओवादी पनि रहने ।

दुवै नामका दल नै अरूले दर्ता गरे । पार्टी विघटन हुनु पूर्व सत्ता स्वार्थबाट प्रेरित भएर सङ्घीय संसद्को निर्वाचनमा दुई पार्टीबिच चुनावी गठबन्धन भएको थियो । झन्डै दुई तिहाइ मत गठबन्धनले पायो। ओली प्रधानमन्त्री बने ।

नेपालको इतिहासमा २०१५ सालपछिकै सबैभन्दा बलियो सरकार बन्यो । तर बहुमत उनीहरूलाई पचेन । तीन वर्ष नपुग्दै सत्ता स्वार्थले बनेको एकता टुट्यो ।

सरकार बन्नु पूर्व तत्कालीन एमाले अध्यक्ष र तत्कालीन माओवादी केन्द्रका अध्यक्षले सत्ता साझेदारीका लागि तीन बुँदे सहमति गरेका थिए ।

आधा आधा कार्यकाल सत्ता साझेदारीको गोप्य सम्झौता गरेका थिए । त्यो सहमति धेरै समयसम्म गोप्य राखियो।

तर सहमति कार्यान्वयन हुने र गति लिने अवस्था आएन। तर सहमति जब बाहिर आयो विवाद सुरु भयो । सहमति कार्यान्वयन गर्न ओली इमानदार भएनन् ।

यसै विवादले अहिले यस्तो रूप लियो जुन उनीहरूले कल्पना समेत गरेका थिएनन् होला ।

पुस ५ गते यता दुई समूहमा विभाजित भएका नेकपा नेताहरूले एकले अर्कालाई चर्का गाली गरे ।

सके जति भने । नेता र कार्यकर्ता तहमै विभाजित भयो। तर राजनीति हो सोमबार पुनः उनीहरू घर फर्किएका छन् । केही फर्किन बाँकी छ । उनीहरूको फर्किने/नफर्किने पनि टुङ्गो छैन ।

सत्ता र शक्तिको लोभमा एक भएका नेताहरू अन्ततः अलग भए । उनीहरूको ब्रेकअपमा अदालतको आदेशले क्याटालिस्टको काम गर्‍यो ।

सर्वोच्चको फैसला उनीहरूका लागि सम्बन्ध विच्छेद गर्ने फैसला बन्यो ।

सम्बन्धपछिका परिदृश्य हेरौँ । ओली सबैभन्दा ठुलो पार्टीका अध्यक्ष नै छन् ।

प्रधानमन्त्री पद पनि कायमै छ । सम्भवतः विश्वासको मत पनि उनले लिन सक्छन् । नेपाल र खनालसहित एमाले नेता मूल घरमै फर्किए ।

उनीहरू पनि सबैभन्दा ठुलो पार्टीका नेता भइहाले । यसर्थ यत्रो राजनीतिक उथलपुथलले ओलीलाई खासै केही फरक परेन ।

यता दाहालको अवस्था हेरौँ । उनको अवस्था भने नाजुक छ । आफूसँगै रहेको नेपालसहितका एमाले साथीहरू गए । आफ्ना माओवादीकै नेताहरू घर फर्किने/नफर्किने अत्तोपत्तो छैन ।

वास्तवमा दाहाल नै यति बेला सबैभन्दा कमजोर भएका छन् । यो उथलपुथलले सबैभन्दा अनपेक्षित क्षति दाहाललाई भएको छ ।

उनलाई अब माओवादी ब्युँताउनै सकस हुनेछ । पार्टीका प्रभावशाली नेताहरू माओवादीमै फर्काउन सकस हुनेछ ।


Last Updated on: March 9th, 2021 at 7:44 pm
१८८ पटक हेरिएको

तपाईको प्रतिक्रिया