शुक्रबार ०४ आषाढ २०७८

काठमाडौं,

नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा सांसद लालबाबु पण्डितले प्रतिनिधिसभाको यो कार्यकालभरि नै नेकपा एमालेको नेतृत्वको सरकार रहने दाबी गरेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

उनले भने,‘यो सरकार पाँच वर्ष चल्छ । प्रतिनिधिसभाको कार्यकालभरि अन्य कुनै पनि पार्टीको नेतृत्वमा सरकार बन्दैन् ।

आन्तरिक किचलो नेकपा एमलोभित्र अब हुँदैन् । हिजो नेकपा हुँदा जे/जति किचलो थियो, त्यो अब त्यो रुपमा रहँदैन् । नेकपा एमाले एक ढिक्का भएर अघि बढ्छ।

पार्टीको नेतृत्व पँक्ति एक भएर सरकारको रक्षा गर्ने, पार्टीको नीतिहरुलाई कार्यान्वयन गर्न र सरकारमार्फत एक ढिक्का भएर अघि बढ्छ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले अब एमालेका नेतृत्वहरुले पार्टीलाई एक बनाउने र सरकारलाई सफल बनाउनेबाहेक अन्य क्रियाकलापहरु नगर्ने पनि दाबी गरे ।

उनले भने,‘वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल वा वामदेव गौतमलगायतका नेताहरुले अब नेकपा एमालेलाई बलियो बनाउनुहुनेछ ।

सरकारलाई बलियो बनाउने बाहेकको अन्य कुनै पनि गतिविधि वा क्रियाकलाप अब गर्नुहुन्न भन्ने मेरो विश्वास छ ।’

नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता लिए उहाँले विश्वासको मत लिनुहुन्छ कि राजीनामा दिनुहुन्छ ? भन्ने प्रश्नमा उनले प्रधानमन्त्रीले विश्वासको मत लिने र बहुमत प्राप्त गर्ने विश्वास दिलाए ।

उनले भने,‘मैले नेताहरुले फिर्ता लिनुपर्छ कि भनेर सुनेको हुँ । तर, माओवादी केन्द्रले समर्थन फिर्ता लिने निर्णय भएको कुरा मलाई थाहा छैन् ।

सम्माननीय प्रधानमन्त्रीज्यूले विश्वासको मत लिनुहुन्छ । विश्वासको मत बहुमत पुग्नेगरि आउँछ ।

यो सरकार ढल्दैन् । अहिलेको अवस्थामा प्रधानमन्त्री फेरिने अवस्था देख्दिन् । विश्वासको मत लिन्छु भनेपछि राजीनामाको कुरा आएन् ।’

 


Last Updated on: March 9th, 2021 at 7:16 pm
१६७ पटक हेरिएको

तपाईको प्रतिक्रिया