आइतबार ०६ आषाढ २०७८

 

नेपाल कम्युनिष्ट पार्टी ओली समूहको संसदीय दलको बैठक सकिएको छ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री तथा ओली समूहका संसदीय दलका नेता केपी शर्मा ओलीले संसदका गतिविधिमा सक्रियतापूर्वक केन्द्रित हुन सांसदहरूलाई निर्देशन दिएका छन्।

उनले सांसदहरू नआत्तिन पनि सुझाए।

‘हामी आत्तिनु पर्ने केही छैन। संसद चल्छ। हामी मजाले अगाडि बढ्न सक्छौं।

हामी ढुक्क अवस्थामा छौं’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै सांसद किसान श्रेष्ठले भने।

आफूहरूको संख्या पनि बढ्दै जाने उनले बताए।

‘आज ११५ छौं। भोलि १२० हुन्छौं’, हाम्रो संख्या बढ्दै जान्छ’, उनले भने।

बैठकमा ११५ सांसद उपस्थित भएको ओली समूहको दाबी छ। यद्यपि बालुवाटारभित्र कुनै पत्रकारलाई छिर्न दिइएको थिएन।

यसका साथै, प्रधानमन्त्रीले संसदमा दृढताका साथ अगाडि बढ्न निर्देशन दिएको राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले बताएका छन्।

भट्टराईले अविश्वास प्रस्ताव ल्याउन कसैले हिम्मत समेत नगर्ने बताए।

‘अविश्वासको प्रस्ताव ल्याउन कसैले हिम्मत गर्दैनन्। जो बाहिर हुनुहुन्छ, उहाँहरू पनि फर्कनुहुन्छ।

नेकपा विभाजन हुन कठिन छ,’उनले भने।

बैठकमा वामदेव गौतम, लालबाबु पण्डित र तुलसा थापा उपस्थित थिएनन्।

उनीहरू प्रचण्ड-नेपाल समूहको संसदीय दलको बैठकमा पनि सहभागी थिएनन्।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपा दुई समूहमा बाँडिएको छ।

प्रचण्ड–नेपाल समूहले शुक्रबार संसदीय दलको बैठक गरेको थियो। उक्त बैठकले प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको छ। सो समूहले आफ्ना पक्षमा १ सय ११ सांसद रहेको दाबी गरेको छ।

आइतबार संसद बैठक बस्दैछ।

 


Last Updated on: March 6th, 2021 at 6:01 pm
१५६ पटक हेरिएको

तपाईको प्रतिक्रिया