शुक्रबार ०४ आषाढ २०७८

जनता समाजवादी पार्टी (जसपा)का नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले केपी ‌ओलीसँग लाज पचाउन सक्ने क्षमता रहेकाे बताएका छन्।

आज साँझ दिनभरीकाे घटनाक्रमलाई लक्षित गर्दै उनले फेसबुकमा लेखेका छन्, “केपि ओलिमा एउटा क्षमता चै छ है ! त्यो हो लाज पचाउन सक्ने क्षमता।”

शुक्रबार दिउँसो बालुवाटारमा सम्पादकहरुलाई राखेर पत्रकार सम्मेलन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिई नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न गरेको सिफारिश र आह्वान गर्ने राष्ट्रपतिको बचाउ मात्र गरेका थिएनन् साथै मिलेर सरकार बनाउन विपक्षीहरुलाई चुनौती समेत दिएका थिए।

संसद विघटन गर्न खोजेको आरोपको खण्डन गर्दैै उनले १५० सांसदले सरकार बनाउन नसक्ने अनि, १२१ सांसद भएको आफूलाई अपजस दिने भनेर प्रश्न गरेका थिए।

एमालेकै १२१ सांसदमध्ये पनि २७ जनाले समेत मत नदिएको भन्दै उनले भनेका थिए, ‘प्राक्टिकल्ली हेर्‍यौं भने ९३ रहेछ नि त।’

उनले मिलेर सरकार बनाउन वा संसद बचाउने भए आफूलाई समर्थन गर्न आग्रह गरेका थिए। प्रधानमन्त्रीले बालुवाटारबाट चुनौती दिंदा विपक्षी नेताहरु छलफलमा थिए।

तर विपक्षी नेताहरुभन्दा पहिले ओली शीतलनिवास पुगे, र संसदको विश्वास जित्ने आधार भएको भन्दै आफूलाई नै प्रधानमन्त्री नियुक्त गर्न दाबी पेश गरे।

एमालेका १२१ र जसपाका ३२ सांसदले साथ दिने भन्दै पेश गरिएको दाबीमा जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोको हस्ताक्षर थियाे।

जबकि बिहीबार मात्र उनले संसदको विश्वास जित्न सक्दिनँ भनेर राष्ट्रपतिलाई धारा ७६(५) अनुसार सरकार गठनको प्रक्रिया अघि बढाउन आग्रह गरेका थिए।

ओलीको सिफारिश लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६(५) अनुसार सरकार गठनका निम्ति शुक्रबार पाँच बजेसम्मका निम्ति समय दिएकी थिइन्।

नयाँ सरकार गठनको औचित्य पुष्टि गर्ने राष्ट्रपति कार्यालयबाट जारी वक्तव्यमा ओलीले विश्वासको मत लिने परिस्थिति नरहेको उल्लेख छ।

 


Last Updated on: May 23rd, 2021 at 9:11 pm
११२ पटक हेरिएको

तपाईको प्रतिक्रिया