शुक्रबार ०४ आषाढ २०७८

काठमाडौं :

गत प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनपछि लगातार सरकारबाहिर रहेको नेपाली कांग्रेस अब छिट्टै सरकारमा सहभागी हुने भएको छ ।

कर्णाली प्रदेशमा कांग्रेसका समर्थनमा विश्वासको मत लिएर कुर्सी जोगाउन सफल भएका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कांग्रेसका २ जनालाई मन्त्री बनाउने भएका छन् ।

तत्कालीन नेकपा एमालेले सरकार छाडेर समर्थन फिर्ता लिएपछि कर्णाली प्रदेश सरकारमा केही मन्त्रालय खाली रहेका छन् ।

कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सबैतिरबाट कांग्रेस सरकारमा सहभागी हुनुपर्ने सुझाव आएपछि सरकारमा जाने निर्णयमा पुगिएको जनाएका छन् ।

‘जनताको समस्या समाधान गर्न, कोरोनाको महामारीबाट कर्णालीका नागरिकलाई जोगाउन तत्काल मन्त्री नियुक्त गर्न नागरिकस्तरबाट दबाब आइरहेको थियो,’ कांग्रेस स्रोतले भन्यो ।

कर्णाली सरकारमा कांग्रेसबाट सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बिसी र जलस्रोत तथा ऊर्जा मन्त्रीमा दीनबन्धु श्रेष्ठलाई पठाउने सहमति पार्टीमा भइसकेको स्रोतले जनाएको छ ।

कर्णाली प्रदेश सभामा ६ सांसद रहेको कांग्रेसभित्र मन्त्री चयनमा सहजै सहमति जुटेको जनाइएको छ ।

संसदीय दलका नेता शाहीले समेत मन्त्री बन्ने नामको टुंगो लागिसकेको बताएका छन् ।

शाहीले जनताको चाहना, आवश्यकताबमोजिम कांग्रेस सरकारमा सहभागी हुन लागेको बताएका छन् ।

शाहीले सरकारमा जान भइरहेको ढिलाइबारे बताउँदै भने, ‘मन्त्रालयको कार्यविभाजनमा थोरै समस्या देखिएको छ ।

त्यो समाधान हुने बित्तिकै आमजनताको माग बमोजिम कांग्रेस सरकारमा जान्छ ।’

कर्णालीमा कांग्रेसलाई कोरोना भाइरस संक्रमणको रोकथाम र उपचारमा सक्रिय हुने सामाजिक विकास मन्त्रालय दिइएको छ ।

नेकपा एमाले र माओवादी केन्द्रको विवाद चर्किएका बेला कुर्सी जोगाउन मुस्किलमा परेका मुख्यमन्त्री शाहीलाई कांग्रेसले विश्वासको मत दिएर सहयोग गरेको थियो ।

 


Last Updated on: May 23rd, 2021 at 10:35 am
१०२ पटक हेरिएको

तपाईको प्रतिक्रिया