आइतबार ०६ आषाढ २०७८

काठमाडौँ :

एकता भएको तीन वर्ष नपुग्दै विभाजन भएको नेकपा एमाले र माओवादी केन्द्रबीच फेरि पनि एकीकरण गरिने उद्घोष दुवै पार्टीका शीर्ष नेताहरुले गरेका छन् ।

तर त्यसको सम्भावना नेपालको राजनीतिक क्षितिजमा तत्काल नदेखिएको विश्लेषकहरुको दाबी छ ।

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीसँगको एकीकरण विगतमा सफल नभएपनि त्यसको विरासतलाई नयाँ स्वरुपमा पुनःस्थापित गर्ने दाबी गर्नुभएको छ।मदन–आश्रित स्मृति दिवसको अवसरमा एक सन्देश जारी गर्दै ओलीले माओवादीसँग एकीकरणको विरासतलाई नयाँ स्वरुपमा पुनःस्थापित गर्ने दाबी गर्नुभएको हो ।

यसबाट ओलीले फेरि पनि एमाले माओवादीको एकता गरेर मात्रै आगामी चुनावमा जान चाहेको अनुमानहरु भइरहँदा माओवादी केन्द्रका नेताहरु पनि एकीकरणको पक्षमा अभिव्यक्ति दिन थालेका छन् ।

देशीविदेशी शक्तिहरुको बलमा नेकपा एकता भंग भएको र अब आफ्नै सामाथ्र्यमा फेरि पनि एकताको बिन्दु खोजिनुपर्ने उनीहरुको दाबी छ ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमाले माओवादीको एकताका लागि आफूहरुले हिम्मत हार्न नहुने बताउनुभयो ।

कम्युनिष्ट एकतालाई बलियो पार्न दुई पार्टीको एकता हुनै पर्ने तर त्यसका लागि सबैभन्दा पहिले वैैचारिक राजनीतिक लाइनमा प्रष्टता खोजिनुपर्ने उहाँले बताउनुभयो ।

नेकपा एमाले र माओवादीबीचको एकता भंग भएपछि नेकपा एमाले पनि सिंगो रहने कि नरहने भन्ने विवाद अहिले पनि साम्य भएको छैन ।

एमालेको आन्तरिक विवाद साम्य पार्न दुई समूहका नेताहरु सम्मिलित कार्यदलले काम गरिरहेको छ ।

अध्यक्ष ओलीले एमालेको असन्तुष्ट समूहसँग वार्ता गरेर सहमतिका लागि लचकता प्रस्तुत गरेलगत्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ओलीलाई फोन गरेर सबै कम्युनिष्ट शक्तिको एकताका लागि आह्वान गरेको समाचार बाहिर आएको थियो ।

त्यसमा ओलीले विचार गरौँला भन्ने जवाफ दिएको श्रोतको दाबी छ ।

यसबाट पनि एमाले –माओवादीको मिलनबिन्दु खोज्ने प्रयास दुवै पार्टीबाट भइरहेको संकेत मिल्छ ।

तर राजनीतिक विश्लेषक लोकराज बरालले भने तत्काल दुई पार्टीको एकता हुने कुनै सम्भावना नरहेको दाबी गर्नुभयो ।

एमालेको नेतृत्वमा केपी ओली रहेसम्म माओवादीसँग फेरि एकता हुन नसक्ने उहाँको जिकिर छ ।

तर अर्का वाम विश्लेषक डा. सुरेन्द्र केसीको बुझाई पनि फरक छ ।

उहाँले विचार भन्दा पनि पद र प्रतिष्ठाका लागि कम्युनिष्टहरुबीच लडाई भइरहेकोले स्वार्थ मिले फेरि पनि एकताको सम्भावनालाई नकार्न नसकिने बताउनुभयो ।

अहिले कम्युनिष्ट पार्टीका नाममा अवसरवादी आन्दोलनभित्र पदखोरहरुको झगडा चलिरहेकोले उहाँको टिप्पणी छ ।

नेपालमा पाँच वर्ष सम्म चल्ने स्थायी सरकार बनाएर स्थिरता दिने र त्यसको जगमा विकास गर्ने दाबीसहित चुनावी गठबन्धन गरेर माओवादी र एमालेले जनतासँग मत मागेका थिए ।

दुई पार्टी मिलेपछि दुई तिहाई बहुमतसहित केपी ओलीको नेतृत्वमा कम्युनिष्ट सरकार बनेको थियो ।

तर तीन वर्ष नबित्तै एकता भंग भएपछि ओली सरकार दुईतिहाईबाट अल्पमतमा झरेको छ । संसदले आफ्नो पाँच वर्षको आयु बाँच्न नपाउने खतरा टरेको छैन ।

http://nepalinetwork.com/ बाट साभार गरीएको हो ।

 


Last Updated on: May 19th, 2021 at 9:15 pm
५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया