आइतबार ०६ आषाढ २०७८

काठमाडौं :

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सरल सहयात्रीले सामाजिक सञ्जाल फेसबुकमा पार्टी नेतृत्वप्रति आक्रोश पोखे।

उनले पार्टीको अघिल्लो पुस्ताले हार्दिकतापूर्वक र स-सम्मान वैचारिक अभिभावकत्वसहितको नेतृत्व लिएर कार्यकारी जिम्मेवारीबाट बिदाइ लिने बेला भएको उल्लेख गरेका छन्।

सहयात्रीजस्ता माओवादीका सयौं कार्यकर्ताले सामाजिक सञ्जालमा पार्टीबारे टिप्पणी लेखेका छन्। कतिले विगतको तीखो आलोचान गरेका छन् भने कतिले आउने दिनमा माओवादीले संगठन सुदृढ गर्न दृढतापूर्वक लाग्नुपर्ने सुझाएका छन्।

नेतृत्वले आफ्नो वर्गीय धरातल बिर्सिएर बुर्जुवासँग काँध जोडेको र सत्ता गठबन्धनमा धेरै समय र उर्जा खर्च गरेकाले पार्टी कमजोर भएको टिप्पणी पनि उनीहरूले गरेका छन्।

नेकपा टुक्रिएर एमाले र माओवादी केन्द्र अलग हुन्छन् भन्ने माओवादी नेतृत्वले कल्पना पनि गरेको थिएन। ओलीविरूद्धको मोर्चामा नेकपाभित्र माधवकुमार नेपाल, झलनाथ खनालको साथ थियो, त्यसैले दुई पार्टी सर्लक्क अलग हुने सम्भावना थिएन।

सर्वोच्च अदालतले नै एमाले र माओवादी केन्द्रलाई अलग बनाइदिएपछि माओवादी नेतृत्व बल्ल त्यो झड्काबाट ब्युँझिन थालेको छ। आफ्नै बुँतामा पार्टीको भविष्य खोज्नुपर्छ भन्ने निष्कर्षमा नेतृत्व पनि पुगेको छ।

कार्यकर्ताको यो आक्रोश, निरासा र भविष्यका लागि जुध्ने प्रतिवद्धताबीच पार्टीलाई कसरी अघि बढाउने भनेर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तयारी सुरू गरेका छन्।

अध्यक्ष प्रचण्डले पार्टी पंक्तिलाई इमेलमार्फत् केही प्रश्न पठाएर मुख्यगरी चार विषयमा सुझाव मागेका छन्: पार्टी प्रमुखको कार्यकारी पदमा रहनका लागि उमेरको हद राख्ने वा नराख्ने, राख्ने भए कति राख्ने?, कार्यकालको सीमा राख्ने वा नराख्ने, राख्ने भए कति राख्ने?, केन्द्रदेखि सबै समितिहरूको कार्यकारी प्रमुखका लागि यस्तो सीमा राख्ने कि नराख्ने वा फरक-फरक राख्ने? र जिल्ला समितिलाई साविकझैं राख्ने वा जिल्ला समन्वय समिति बनाउने?

प्रचण्डले पार्टीलाई नयाँ ढंगले पुनर्संरचना गर्ने भनिरहँदा उनीसँग २०६४ सालपछिको माओवादी पार्टी सिंगो रूपमा छैन। जनमतका आधारमा त्यो बेलाको मोटोघाटो पार्टी अहिले धेरै दुब्लो भएको छ।

पार्टीको लोकप्रिय मत निरन्तर घटेको छ। संगठन भद्रगोल छ। अनि २०६४ सालमा पार्टी नेतृत्वमा रहेका धेरै अनुहार आज प्रचण्डसँग छैनन्।

२०६३ मंसिरमा विस्तृत शान्ति सम्झौता भएसँगै माओवादीको खुला राजनीतिक यात्रा सुरू भएको हो। त्यो बेला माओवादीका संगठन छरिता थिए।

जम्मा ११ जनाको सचिवालय अनि ३५ जनाको केन्द्रीय कमिटी थियो। तत्कालै कुनै महत्वपूर्ण निर्णय गर्न ६ जनाको अघोषित ‘कोर टिम’ थियो।

त्यसमा प्रचण्डका साथै वरिष्ठ नेताहरू मोहन वैद्य, बाबुराम भट्टराई, रामबहादुर थापा, सिपी गजुरेल र पोष्टबाहादुर बोगटी थिए। तीमध्ये बोगटीको निधन भएको छ भने अरू कुनै पनि नेता अहिले प्रचण्डसँग छैनन्।

त्यस्तै ११ जनाको सचिवालयमा त्यतिखेर प्रचण्डसहित मोहन वैद्य, बाबुराम भट्टराई, सिपी गजुरेल, रामबहादुर थापा, पोष्टबहादुर बोगटी, कृष्णबहादुर महरा, देव गुरूङ, टोपबहादुर रायमाझी, वर्षमान पुन र नेत्रविक्रम चन्द ‘विप्लव’ थिए।

त्यो सचिवालयका सदस्यमध्ये अहिले प्रचण्डसँग देव गुरूङ, कृष्णबहादुर महरा र वर्षमान पुनमात्रै छन्। वैद्य र गजुरेल नेकपा क्रान्तिकारी माओवादीमा छन्।

भट्टराई जनता समाजवादी पार्टीमा छन् भने बादल र रायमाझी एमाले प्रवेश गरेका छन्। विप्लवले छुट्टै समूह गठन गरेका छन्।

३५ जनाको केन्द्रीय कमिटीमा पनि १५ जनाले प्रचण्डको साथ छोडिसकेका छन्। मोहन वैद्य, बाबुराम भट्टराई, सिपी गजुरेल, इन्द्रमोहन सिग्देल, हरिभक्त कँडेल, नेत्रविक्रम चन्द, खड्कबहादुर विश्वकर्मा, धर्मेन्द्र बाँस्तोला, हिसिला यमी, रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, लोकेन्द्र बिष्ट, हेमन्तप्रकाश ओली र गोपाल किराँती अहिले प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा छैनन्।

२०६४ सालमा नारायणकाजी श्रेष्ठसँग भएको एकतापछि नारायणकाजी श्रेष्ठ, लिलामणि पोखरेल, गिरीराजमणि पोखरेल, गणेश साहजस्ता वामपन्थी राजनीतिमा लामो समय बिताएका नेताहरू अहिले पनि प्रचण्डसँगै छन्।

जनतामा पार्टीको लोकप्रियता, संगठनमा भएको क्षति र नेतृत्व पंक्तिमा देखिएको निरन्तर पलायनका माझ माओवादी केन्द्रलाई पुनर्गठित गर्नुपर्ने चुनौती प्रचण्डलाई छ।

कतिपय कार्यकर्ताले उनकै नेतृत्वमाथि प्रश्न उठाएका छन्। त्यसमाथि पार्टी सत्ताबाहिर छ र आर्थिक स्रोत कसरी जुटाउने भन्ने दबाब पनि प्रचण्डलाई छ।

यस्तोमा पार्टीको सुदृढीकरण कहाँबाट सुरू गर्ने?
‘हामी एमाले र कांग्रेसजस्तो होइन।

त्यही नभएका कारण जनयुद्ध लडेको हो। त्यसकै बलमा राजतन्त्र गयो। गणतन्त्र, धर्म निरपेक्षता, संघीयताजस्ता उपलब्धी भए,’ सहयात्रीले भने, ‘हामी खुला राजनीतिमा आएपछि हामीले जनतामा गएर संगठन बनाउनेभन्दा छक्कापञ्जा गरेर भए पनि सत्तामा जाने बाटो रोज्यौं।

हामीले हाम्रो वर्ग भुलेर बुर्जुवालाई साथ लियौं। त्यसकै परिणाम आज देखिएको हो। पार्टी बलियो बनाउन हामीले हाम्रो वर्ग समात्नु पर्छ।’

माओवादी पार्टीले बुर्जुवाको एजेन्डा बोक्न खोज्दा अहिलेको अवस्था आएको विश्लेषण माओवादी नेता एंव सांसद राम कार्कीको पनि छ।

‘माओवादीको अतितले गर्दा यो पार्टी पुँजीपति र ठूला व्यापारीको बन्न सक्दैनथ्यो,’ उनले भने, ‘हामीले मजदुर किसानलाई बिर्सियौं। बुर्जुवाले हामीलाई विश्वास गरेनन्।

जुन स्वभाविक थियो।’सुरूमा मूल नेतृत्व सत्तामा नजाने भन्ने नीति भए पनि प्रचण्ड र बाबुरामले नै सबैभन्दा पहिला खुट्टा उचाल्दा पार्टी भद्रगोल भएको उनले बताए।

‘फागुन २३ गते एमाले र माओवादीको एकता भंग भएपछि नै हामीले माफी माग्दै मजदुर- किसानका आवाज उठाउने प्रतिवद्धता जनाउनु पर्ने थियो।

तर हामीले सत्ताकै लागि चलखेल गरिरह्यौं,’ उनले भने, ‘अब नयाँ नीति र नयाँ नेतृत्वबिना पार्टी अघि बढ्न सक्दैन।’तलसम्म पार्टीलाई संगठित गरेर लैजाने पार्टीको कार्ययोजना रहेको माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य पम्फा भुसालले सेतोपाटीलाई बताइन्।

‘अब हामीले राजनीतिक कार्यदिशाले कार्यकर्ता र जनतालाई अगाडि ल्याउनु पर्छ। अहिले राष्ट्रले लिएका एजेन्डा माओवादीकै हुन्,’ उनले भनिन्, ‘कोरोनाको कारणले हामीलाई तत्कालै तलसम्म जान कठिन हुन्छ होला।

तर अब हामी नयाँ ढंगले जनतामा जानुपर्छ। देशमा हाम्रा कारण स्थापित भएका एजेन्डाबारे जनतालाई सुसूचित गराउनुपर्छ।’

माओवादीले अहिले आफ्नो संगठनात्मक संरचनालाई चुस्त बनाउने तयारी गरेको छ। २०७४ अघि माओवादीका संगठनहरू भद्धा थिए।

एमालेसँगको एकता भंग भएपछि माओवादीको केन्द्रीय कमिटी २ सय सदस्यीय छ। तीमध्ये १ दर्जन बढी एमाले प्रवेश गरेका छन्।

अब बन्न लागेको अन्तरिम विधानअनुसार २९९ सदस्यीय केन्द्रीय कमिटी, १ सय ७५ सदस्यीय प्रदेश समिति, १ सय २५ सदस्यीय जिल्ला समिति बन्नेछन्।

यहीअनुसार वडा, गाँउ र टोलसम्मै कमिटी गठन गर्ने विधान तयार पारिएको छ। यसलाई केन्द्रीय कमिटीले अनुमोदन गरेपछि कार्यान्वयनमा जान्छ।

प्रचण्डकै नेतृत्वमा माओवादी केन्द्रलाई बलियो बनाउने धेरैको धारणा रहे पनि सांगठनिक सुधारले मात्र अब पार्टीले पुनर्जीवन पाउने नसक्ने कतिपय कार्यकर्ताको मत छ।

‘यो अन्तरिम विधानअनुसार साँच्चै काम गर्ने हो भने ठिकै छ। सोधिएका प्रश्नको सुझाव कार्यान्वयन हुने हो भने त्यो पनि ठिकै छ।

तर अब पुरानै नेतृत्वको पाराले पार्टी चल्दैन,’ केन्द्रीय सदस्यले सहयात्रीले भने, ‘अब हामीले २०६४ देखि २०७४ सम्मको समीक्षा गर्न जरूरी छ। सामूहिक छलफलबाट निष्कर्ष निकाल्नुपर्छ।

मोहन वैद्य रिसले गए, बाबुराम भट्टराई दक्षिणपन्थी भएर गए अनि विप्लव उरन्ठेउला भएर गए भनेरमात्रै पुग्दैन।’

अब जतिसक्दो चाँडो महाधिवेशन गरेर एउटा विधिअनुसार पार्टी चलाउनु पर्ने केन्द्रीय सदस्य सहयात्रीको भनाइ छ।‘पार्टीमा अब उमेर हद र नेतृत्वको लागिसमेत समय तोक्नुपर्छ। हरेक ५ वर्षमा महाधिवेशन गर्ने र दुई कार्यकालभन्दा बढी एक व्यक्तिले नेतृत्व गर्न नपाउने व्यवस्था गर्नुपर्छ,’ उनले भने। एक, दुई चुनाव हारे पनि फेरि पार्टी उठाउन सकिन्छ भन्ने दृढताका साथ जनतामा गएमात्र पार्टीले पुनर्जीवन पाउने उनले बताए।

 


Last Updated on: May 18th, 2021 at 9:28 pm
८७ पटक हेरिएको

तपाईको प्रतिक्रिया