आइतबार ०६ आषाढ २०७८

काठमाडौं –

पछिल्लो समय केन्द्रदेखि प्रदेशसम्म सत्ता समीकरण फेरबदलका खबर आइरहेका बेला नेकपा माओवादी केन्द्रको नेतृत्वमा रहेको कर्णाली प्रदेश सरकारमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बुधवार नियुक्त गरेका ३ जना मन्त्री शपथ नखाँदै बर्खास्त भएका छन् ।

विश्वासको मत दिएर कुर्सी जोगाइदिने नेपाली कांग्रेसलाई नै बाइपास गरेर जान थालेपछि मुख्यमन्त्री शाहीसँग कांग्रेसको सम्बन्ध बिग्रिएको छ ।

मुख्यमन्त्री समेत माओवादीले नै सम्हालेका बेला सरकारमा माओवादीकै मन्त्री भर्न थाल्दा कांग्रेसले समर्थन फिर्ता लिने चेतावनी दिएपछि नियुक्त भइसकेका माओवादी मन्त्रीहरू शपथ नखाँदै बर्खास्त भएका छन् ।

शुक्रबार दिउँसो ३ बजे मुख्यमन्त्री शाहीले प्रदेश प्रमुखलाई भेटेर शपथग्रहण समारोह स्थगित गर्न र तीनै वटा मन्त्रालयको जिम्मा मुख्यमन्त्रीलाई दिन गरेको आग्रहअनुसार प्रदेश प्रमुखले सूचना जारी गरेसँगै तीनै जना मन्त्रीहरू बर्खास्त भएका हुन् ।

मुख्यमन्त्री शाहीले बुधवार आर्थिक मामिला तथा योजना मन्त्रीमा गोपाल शर्मा, आन्तरिक मामिला तथा कानूनमन्त्रीमा विन्दमान विष्टलाई नियुक्त गरेका थिए भने सांसद सीता नेपाली समेत मन्त्री बनाइएको थियो ।

तर यी तीनै मन्त्री शपथ नखाई बर्खास्त भएका छन् ।

सत्ता सहकार्य भइरहेको अवस्थामा मुख्यमन्त्री शाहीले कांग्रेससँग पनि सल्लाह गर्नुपर्ने कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले बताएका छन् ।

‘सल्लाह नभएको विषयमा थोरै विवाद सिर्जना भएका कारण शपथ ग्रहण कार्यक्रम रोकिएको छ,’ नेता शाहीले भने ।

सत्तारुढ दल कांग्रेस र माओवादीबीच विवाद देखिएपछि प्रदेश सरकारमा खैलाबैला मच्चिएको छ ।

कांग्रेसको असन्तुष्टि बढ्दै गएमा समर्थन फिर्ता लिँदा माओवादीको सरकार ढल्ने सम्भावना समेत रहेको छ ।

 


Last Updated on: May 16th, 2021 at 9:05 pm
१३१ पटक हेरिएको

तपाईको प्रतिक्रिया