आइतबार ०६ आषाढ २०७८

काठमाडौं :

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र एमालेका वरिष्ठ नेता माधव नेपालका बीचमा गोप्य भेटवार्ता भएको छ ।

माधव नेपालको निवास कोटेश्वरनजिकै रहेको व्यवसायी चन्द्रलाल श्रेष्ठको निवासमा प्रचण्ड र नेपालका बीचमा भेटवार्ता भएको हो ।

प्रधानमन्त्री केपी ओलीले आगामी वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिने गरी प्रतिनिधिसभाको बैठक आह्रवान गर्न राष्ट्रपतिसमक्ष गरेको सिफारिसका आधारमा राष्ट्रपतिले बैठक आह्रवान गरेपछि प्रचण्ड र नेपालका बीचमा पहिलोपटक भेटवार्ता भएको
हो ।

ओलीले हिजो बसेको मन्त्रिपरिषद्को बैठकबाट विश्वासको मत लिन जाने निर्णय लिएका थिए ।

गत फागुन २३ गते एमाले र माओवादी केन्द्र अलग-अलग भएपछि सबैभन्दा अप्ठ्यारोमा माधव नेपाल पक्ष परेको थियो । नेपाल पक्ष एमालेमै रहेपनि ओलीको चेपुवामा पर्दै आएका छन् ।

ओलीले नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई ६ महिना पार्टी सदस्यबाटै निलम्वन गरेका छन् ।

नेपालसहितका संघीय संसद्का ३० सांसदलाई सांसद् पदबाट किन नहटाउने भन्दै स्पष्टीकरण समेत सोधिएको अवस्था छ । २७ जनालाई पहिले र पछि थप ३ जनालाई स्पष्टीकरण सोधिएको थियो ।

प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिनका लागि सिंगो एमाले र जनता समाजवादी पार्टीको १५ सिट लिनुपर्ने हुन्छ । एमालेसँग संसद्को गणितमा १२१ सिट
छ ।

तर राजनीतिक रुपमा त्यो संख्या विश्वासको मत लिने अवस्थामा रहन्छ या रहँदैन भन्ने कुरा नेपाल पक्षको निर्णयले निर्धारण गर्नेछ ।

ओलीले नेपाल पक्षलाई कारवाही गर्ने , नगर्नै भन्नेमा १० वैशाखको पार्टी महाधिवशेन आयोजक समितिको बैठकबाट स्थायी समितिमा अधिकार लिएर राखेका छन् ।

प्रधानमन्त्री ओलीले २७ वैशाखमै विश्वासको मत लिने भएपछि नेपाल र ओली पक्षको लडाईंको छिनोफानो पनि त्यही दिन हुने अवस्था निम्तेको छ ।

ओलीले विश्वासको मत लिन सक्दा ओलीले सरकार आगामी थप एक वर्षसम्म ढुक्कैले चलाउनेछन् । तर विश्वासको मत लिन नसकेमा उनले फेरि प्रतिनिधिसभा विघटन गरेर मंसिरमा अर्ली चुनावको घोषणा गर्ने गरी जान चाहिरहेका छन् ।

यस्तो बेला ओलीको सम्भावित रणनीति र अब नेपाल पक्षले चाल्ने कदमका विषयमा दुई नेताबीच छलफल भएको स्रोतले बताएको छ ।

ओली पक्षले लुम्बिनी प्रदेशमा शंकर पोखरेललाई अविश्वास प्रस्ताव फेस नगरी राजीनामा दिन लगाई पुन: एकल बहुमतको सरकारका नाममा गरिएको नियुक्तिका विषयमा पनि छलफल भएको स्रोतको भनाइ छ ।

प्रधानमन्त्री ओलीले गत पुस ५ मा प्रतिनिधिसभा विघटनको निर्णय लिएपछि प्रचण्ड र नेपाल पक्ष एक भएका थिए ।

तर पछि अदालतले नेकपाको एकतालाई नै वदर गरेपछि भने छुट्टिएका नेपाल र प्रचण्डवीच पटक पटक यस्तै गोप्य संवाद हुँदै आएको छ । https://pathivaranews.com/ बाट साभार गरीएको हो ।


Last Updated on: May 4th, 2021 at 6:48 pm
१२२ पटक हेरिएको

तपाईको प्रतिक्रिया