बिहिबार ३० बैशाख २०७८


प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीका कारण लगाइएको बन्दाबन्दीका कारण कोही भोकै मर्नुनपर्ने बताउनुभएको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारबाट देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोही नागरिक पनि भोकै मर्नुनपर्ने बताउनुभएको हो ।

‘दोस्रो लहरको यो महामारी निकै असरदार छ । सरकारले हरसम्भव प्रयास गरेको छ । विशेषज्ञको सल्लाह अनुसार नियन्त्रणका लागि बन्दाबन्दी गरिएको हो,’ उहाँले भन्नुभयो, ‘यो नागरिकको जीउधन रक्षाकै लागि हो ।

यसबाट कोही नागरिक भोकै मर्नुपर्दैन । त्यसको जिम्मेवारी सरकारले लिन्छ ।’

नागरिकको जीउधनको रक्षा नै सरकारको पहिलो दायित्व भएको प्रधानमन्त्री ओलीको भनाई थियो । साथै यो दोस्रो लहर नियन्त्रणका लागि राज्यका सबै संयन्त्रहरु परिचालित गरिएको भन्दै ओलीले सबैको साथ भए यसलाई पनि नियन्त्रण गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले सरकार एक्लैले गरेर मात्रै महामारीबाट पार पाउन नसकिने भन्दै नागरिक तहबाट पनि सहयोगको अपेक्षा गर्नुभयो । ‘सरकारले सबै संयन्त्र परिचालन गरेको छ ।

जतिसक्दो छिटो नियन्त्रणमा ल्याउने गरी नै काम भइरहेको छ,’ ओलीले भन्नुभयो, ‘तर, नागरिकमा पनि जिम्मेवारी हुनुपर्दछ ।

सकरभर घरमै बसौं । भोजभतेर पनि घरमै गरौं । बाहिर अनावश्यक निस्कने काम नगरौं । निस्कनै पर्ने भए पनि स्वास्थ्यका मापदण्ड पालना गरौं ।’

प्रधानमन्त्री ओलीले पहिलो चरणमा २१ लाखलाई भ्याक्सिन लगाइएको र तीन लाख ७० हजारले भ्याक्सिनको दोस्रो डोज पनि लगाइसकेको जानकारी दिनुभयो ।

उहाँले भारतपछि एसियामै निःशुल्क भ्याक्सिन उपलब्ध गराउने नेपाल दोस्रो देश भएको दावी समेत गर्नुभयो ।

‘हामीले हाम्रा नागरिकका लागि निःशुल्क उपचारको व्यवस्था गरेका छौं,’ उहाँले भन्नुभयो, ‘निःशुल्क आउने ठाउँबाट आइरहेको छ । तर, खरिद गर्नुपर्ने राष्ट्रहरुसँग पनि भ्याक्सिनको कुरा गरिरहेका छौं ।’

सरकारले यो महामारीसँग जुध्न हरप्रयास गरिरहेको भन्दै नागरिकहरु पनि आत्तिनुपर्ने अवस्था नरहेको बताए । मनोबल उच्च राख्दै स्वास्थ्य मापदण्ड पालना गरे महामारीलाई परास्त गर्न सकिने उनको भनाइ छ ।

 

१०९ पटक हेरिएको

तपाईको प्रतिक्रिया