बिहिबार ३० बैशाख २०७८

काठमाडौ :

आइतबार दिउँसो नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरी संयुक्त रूपमा गौशाला चोकमा सडकमा गुडेका सवारी जाँच गरिरहका थिए ।

सडकमा बढी मात्रामा निजी कार, ट्याक्सी र मोटरसाइकल गुडिरहेका थिए । यसरी सडकमा गुड्ने मोटर साइकल, निजी कार र ट्याक्सी चालकहरूले भन्थे– ‘एयरपोर्टमा आफन्त लिन हिँडेको ।

काठमाडौँ बाहिर जानका लागि एयरपोर्ट हिँडेको । एयरपोर्टबाट घर फर्किएको ।’ सडकमा सवारी ‘चेकपोस्ट’मा खटिएका प्रहरीका अनुसार अधिकांशले कि एयरपोर्ट हिँडेको, कि एयरपोर्टबाट घर फर्किएको बहाना बनाउने गरेका छन् ।

कतिपयको टिकट देखाउने गरे पनि अधिकांशले बिलौना गरेपछि छोड्नुपर्ने अवस्था रहेको बताउँछन् ।

एक प्रहरीले भने– ‘यहाँबाट एयरपोर्ट नजिक भएकाले धेरैले त्यसलाई बहाना बनाउन पाएका छन् । अहिले एयरपोर्ट खुला भएकाले धेरैजसो ट्याक्सी ड्राइभरले पनि एयरपोर्ट जान लागेको कि एयरपोर्टबाट फर्किएको भनेर बहाना बनाउने गरेका छन् ।’ केही मोटरसाइकल, ट्याक्सी प्रहरीले सडक किनारमा रोकेर राखेको थियो ।

चेक पोइन्ट २: ग्वार्को
ललितपुरको ग्वार्को चोकमा रहेको प्रहरी चेक पोइन्टमा रहेका प्रहरीका अनुसार धेरैजसो सवारीले कुनै न कुनै बहाना बनाएर हिँड्ने गरेका छन् ।

आफन्त बिरामी भएर भेट्न हिँडेको, उपचारका लागि अस्पताल हिँडेको, अत्यावश्यक काम परेकाले अलि अगाडिसम्म जान लागेको भनेर बिलौना गर्ने गरेका छन् ।

धेरैजसोले काममा हिँडेको भन्दै निजी कार्यालयको परिचयपत्र पनि देखाउने गरेको बताए ।

चेक पोइन्ट ३: कोटेश्वर
आइतबार दिउँसो काठमाडौँ, भक्तपुर र ललितपुर प्रवेश गर्ने कोटेश्वर चोकमा पनि नेपाल प्रहरी, ट्राफिक प्रहरीले संयुक्त रूपमा निषेधाज्ञामा सवारी जाँच गरिरहेका थिए ।

सवारी जाँचमा खटिएका प्रहरीका अनुसार सडकमा निस्किएका मोटरसाइकल, ट्याक्सी, निजी कारका चालकहरूले कुनै न कुनै बहाना बनाउने गरेका छन् ।

कतिपयले बिरामी भएर अस्पताल जाने गरेका छन् भने कतिपयले कोरोनाको आशङ्कामा पीसीआर परीक्षण गर्न हिँडेको बताउने गरेका छन् ।

यस्तो अवस्थामा उनीहरूलाई छोड्ने कि समाउने, अप्ठ्यारो अवस्था सिर्जना हुने सडकमा खटिएका प्रहरी बताउँछन् । कोटेश्वर सडकमा खटिएका एक प्रहरीले भने– ‘अनेकथरी बहाना बनाएर हिँड्ने गरेका छन् ।

कोही बिरामी भएर अस्पताल हिँडेको भन्छन् । कोही कोरोनाको शङ्का लागेर पीसीआर परीक्षण गराउन हिँडेको भन्छन् । अनावश्यक रूपमा बाहिर हिँड्नेलाई हामीले समातेर दिनभरी सडक किनारामा राखिदिने गरेका छौँ ।

पीसीआर जाँच गर्न भनेर हिँडेकालाई छोड्ने कि समातेर राख्ने हामीलाई अप्ठ्यारो छ ।’ उनले धेरैजसो खाद्यसामग्री बोकेका र पीसीआर परीक्षणका लागि भन्दै सवारी गुडाउनेहरू रहेको उनले बताए ।

 

६६ पटक हेरिएको

तपाईको प्रतिक्रिया