आइतबार ०६ आषाढ २०७८

काठमाडौं :

कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली अहिले यस्तो अवस्थामा पुगेका छन्, उनी जहाँ–जहाँ हात हाल्छन्, त्यहाँ सिध्याउँछन् ।

प्रधानमन्त्री ओलीले सुरुमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पार्टी एकीकरण गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाए । त्यहाँ बबाल मच्चियो । पार्टी फुट्यो ।

पछि सर्वाेच्च अदालतले नेकपा एमाले र माओवादी पार्टी ब्युँताइदिएपछि दुवै पार्टी छुट्टाछुट्टै बनेका छन् । तर ओली रहेको पार्टी नेकपा एमालेमा विवाद र बबाल रोकिएन ।

प्रधानमन्त्री ओली र माधवकुमार नेपाल पक्षबीच अहिलेसम्म बबाल चलिरहेकै छ । ओली एमालेपट्टि नै छुटेपछि यतिबेला माओवादी पार्टी भने शान्त छ ।

एमालेभित्र विवाद चलिरहेकै बेला ओलीले जनता समाजवादी पार्टी (जसपा) को एक पक्ष अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोसँग हिमचिम बढाएपछि जसपा पनि फुटको संघारमा पुगेको छ ।

यतिबेला अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवबीच विवाद बढेर कारवाही गर्ने र पार्टी फुटाउने अभ्यास सुरु भएका छन् ।

ओलीले हात हालेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा समेत विवाद भएर फुटेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग ३ बुँदे सहमति गरेको नेकपाभित्र लामो समयदेखि अन्तरविरोध र विवाद रहँदै आएको थियो ।

नेकपाका पूर्व वरिष्ठ पोलिट्ब्यूरो कृष्णप्रसाद धमलाको संयोजकत्वमा पार्टी विभाजन भएको छ । विप्लवले क्रान्तिको नाममा नेपाली जनतालाई फेरि धोका दिएकोले नयाँ ढंगले अगाडि बढ्नुपर्ने अवस्था आएको बताए ।

शनिबार एक विज्ञप्ति जारी गरेर नयाँ पार्टीको घोषणा गरिएको छ । नयाँ पार्टीको नाम जनसमाजवादी मञ्च नेपाल राखिएको छ ।

‘आन्दोलनले नेतृत्वलाई उचाइमा पुर्‍याउने तर अन्ततः नेतृत्वले नै जनता र क्रान्तिलाई धोका दिएको इतिहासका साक्षी स्वयं हामी नै छौं ।

तीनै नेतृत्वले आपूmलाई देवत्वकरण गरी क्रान्तिलाई विशर्जन गर्ने प्रबृत्ति हावी रहेको हुनाले लक्ष्य र गन्तब्यसम्म पुग्न नसक्नु विडम्वना नै बनिसकेको सन्दर्भमा सामन्तवादी, साम्राज्यवादी, जडसुत्रवादी चिन्तन र प्रवृत्तिका बिरुद्ध भिषण संघर्षको आंधिवेहरी सृजना गर्न अत्यन्त आवश्यक र जरूरी भइसकेको छ ।

तसर्थ, संगठनात्मक हिसाबले जनतालाई जनसम्प्रभूता सम्पन्न गरेर मात्र अब बाँकी अधुरो क्रान्ति सम्पन्न गर्न सकिने छ,’ विज्ञप्तिमा उल्लेख छ ।

मञ्चको आगामी कार्यदिशा वैज्ञानिक समाजवादी रहेको उल्लेख गरिएको छ । नयाँ पार्टीमा १० पूर्व केन्द्रीय सदस्य, जिल्ला इन्चार्ज तथा सेक्रेटरी, मजदूर, विद्यार्थी लगायतबाट विद्रोह गरेकाहरू रहेको बताइएको छ । https://pathivaranews.com/ बाट साभार गरीएको हो ।

 


Last Updated on: May 2nd, 2021 at 8:06 pm
८६ पटक हेरिएको

तपाईको प्रतिक्रिया