शुक्रबार ०४ आषाढ २०७८

काठमाडौं :

बागमती प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा पाँचवटा राजनीतिक दल प्रतिस्पर्धा रहने भएका छन् ।

आउँदो जेठ ६ गतेका लागि तय भएको उपनिर्वाचनका लागि पाँचवटा राजनीतिक दल दर्ता भएका निर्वाचन आयोगले जानकारी दिएको छ ।

आयोगले बिहीबार राजनीतिक दल दर्ता टुंग्याएको छ । उपनिर्वाचनका लागि नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीले दल दर्ता गरेका आयोगले जनाएको छ ।

दल दर्ता टुंग्याएको आयोगले उनीहरुलाई चुनाव चिन्ह पनि प्रदान गरेको छ । साविक नेकपाका बेला सूर्य चिन्हमा विवाद भएको थियो ।

साविक नेकपाका बेलामा अहिलेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि सूर्य चिन्हमा दाबी गरेपछि यसको टिप्पणी पनि भएको थियो ।

अहिले एमालेको विभाजन पनि सूर्य चिन्हमा अड्किएको भनिएका बेला आयोगले सूर्य चिन्ह केपी शर्मा ओली अध्यक्ष रहेको एमालेलाई नै प्रदान गरेको छ ।

निर्वाचन चिन्ह प्रदान गरेको आयोगले क्रम निर्धारण तथा मतदाता नामावलीको विषयमा पनि निर्णय गरेको छ ।

जसअनुसार पहिलो नम्बरमा रहेको एमालेले सूर्य चिन्ह, दोस्रो नम्बरमा रहेको कांग्रेसले रुख, तेस्रो नम्बरमा रहेको नेकपा (माओवादी केन्द्र)ले गोलाकारभित्र हँसिया हथौडा, चौथो नम्बरमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले हलो र पाँचौं नम्बरमा रहेको नेपाल मजदुर किसान पार्टीले मादल चुनाव चिन्ह पाएको छ ।

कूल मतदाताको संख्या पनि टुंगो लगाएको आयोगकाअनुसार ३४८ जना मतदाता रहनेछन् ।

जसमा प्रदेशसभा सदस्य ११० जना र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २३८ जना रहेका छन् । https://canadanepal.com/ बाट साभार गरीएको हो ।

 


Last Updated on: April 30th, 2021 at 9:02 pm
१४४ पटक हेरिएको

तपाईको प्रतिक्रिया