आइतबार ०६ आषाढ २०७८

काठमाडौं

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली अहिले राजनीतिमा शक्तिमान खेलाडीका रुपमा देखिएका छन् ।

आज मात्रै ओलीले आफ्नै पार्टीका ३२ सांसदहरुलाई कारवाहीको पूर्व तयारीस्वरुप स्पष्टिकरणका लागि परिपत्र गरेका छन् ।

सर्वोच्च अदालतको गग फागुन २३ को फैसलाले ब्यूँतिएको एमाले विभाजनको डिलमा छ । ओलीको एकलौटी राज सहन नसकी अहिले माधव पक्ष वाक्क न दिक्क भइसकेको छ ।

ओलीले अनुशासन र नेतृत्वको हद पार गरिसकेको माधव पक्षको आरोप छ भने पार्टी सही ढंगले चलाउन नदिएको ओलीको गुनासो गम्भीर क्षतिको कारण बन्न पुग्ने संकेत देखिएको छ ।

माधव नेपाल अहिले पार्टीबाहिरका शक्तिहरुसँग मिलेर ओली सरकारलाई सबक सिकाउने कसरतमा छन् । तर ओली झनै चलाख छन् । नेता नेपालले यसको शुरुआत कर्णाली प्रदेशबाट गरेका छन् ।

वैशाख ३ गते माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका कर्णाली प्रदेशका महेन्द्रबहादुर शाहीको पक्षमा एमाले माधव नेपाल पक्षका ४ जना सांसदहरुले मतदान गरेका थिए।

पार्टीको ह्विप उल्लंघन गर्दै फ्लोर क्रस गरेसँगै नेता नेपाल ओलीसँगको लडाइँमा हरेक मैदानमा उत्रिएको देखिन्छ।

नेता नेपालले ओलीलाई सिध्याइदिन कर्णालीमा ‘फ्लोर क्रस’ गरेको बताइसकेका छन्।ओली अहंकारी बन्दै गएको भन्दै उनले त्यसको जवाफ दिन कर्णाली घटना आवश्यक जरुरी भएको समेत बताए।

गत शुक्रबार कर्णाली प्रदेशमा माओवादीबाट मुख्यमन्त्री बनेका शाहीलाई मतदान गरेपछि माधव पक्षका ३ जना सांसद् मन्त्रीसमेत बनेका छन्।

एमाले कर्णाली प्रदेश सरकारले भने ‘फ्लोर क्रस’ गर्ने ३ जना सांसदहरुलाई पार्टीबाट निस्कासन गरिसकेको छ। एकजना सांसद प्रकाश ज्वालालाई कारबाहीका लागि पार्टी केन्द्रमा सिफारिस गरेको छ।

कर्णाली घटनाबाट वरिष्ठ नेता माधव नेपाल पक्ष ओलीलाई लडाउन खुला रुपमै मैदानमा उत्रिएको छ। ओली सरकार संकटमा पर्ने देखिन्छ।

कर्णाली जस्तै यदि केन्द्रमा माधव नेपाल पक्षका सांसदहरुले फ्लोर क्रस गरे ओली सरकार ढल्ने निश्चित छ। प्रतिनिधिसभामा रहेका २७१ सदस्यमध्ये नेकपा एमालेको पक्षमा १२१ सांसद् रहेका छन्।

जसमध्ये केपी प्रधानमन्त्री ओलीको पक्षमा बहुमत छ। नेकपा रहँदा माधव नेपाल पक्षले ३९ जना सांसदहरु आफ्नो पक्षमा भएको दाबी गरेपनि अहिले त्यो संख्या घटेर ३४÷३५ पुगेको छ।

माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने बताउदै आएको छ। यद्यपी अहिलेसम्म भने लिइसकेका छैन। माओवादीले समर्थन फिर्ता लिनेबित्तिकै ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने हुन्छ।

त्यसो हुँदा ओली सरकार जोगाउन जसपाको साथ ओलीलाई आवश्यक पर्छ। जसपाभित्र ओलीलाई समर्थन गर्नुपर्ने मत बलियो भएपनि समर्थन गर्न हुदैन भन्ने मत पनि उत्तिकै बलियो रहेकाले यसै भन्न सकिने अवस्था भने छैन।

यद्यपि पार्टीले औपचारिक रुपमा निर्णय गरेर ह्विप लागेको खण्डमा नयाँ फरक हुन सक्छ। त्यसो त एमालेभित्रै ओलीलाई लडाउने, कमजोर बनाउने शक्तिको रुपमा नेपाल–खनाल पक्ष उत्रिसकेको छ।

त्यसैले जसपाले साथ दिँदा पनि नेपाल पक्षमा रहेका ३४र३५ सदस्यमध्ये कतिले ओलीलाई साथ दिन्छन् भन्ने कुरा नै अहिलेको अवस्थमा महत्वपूर्ण छ।

पार्टीको ह्विप उल्लंघन गर्दै ‘फ्लोर क्रस’ गरेमा पार्टी र सांसद् पद समेत गुमाउनुपर्ने अवस्था छ। त्यसैले पनि प्रतिनिधिसभामा रहेका नेपाल पक्षका सबै सांसदहरुले यो कदम चालिहाल्ने अवस्था देखिँदैन।

खुला रुपमा ओलीविरुद्ध नेपाल–पक्ष उत्रिसकेकाले यो कदमलाई भने, अहिलेका लागि रोक्नसक्ने सम्भावना अत्यन्तै न्यून छ।

तर, नेपाल–खनाल समूहमा पनि एमालेमै रहनुपर्छ, पार्टी जोगाउनुपर्छ भन्ने पक्ष बलियो छ। त्यसो भएकाले सबै सांसदहरुले ‘फ्लोर क्रस’ गर्ने सम्भावना देखिँदैछ।

यति हुँदा पनि ओली सरकार पनि संकटमै छ। २७१ सदस्य रहेको प्रतिनिधिसभामा एमालेका १२१, काँग्रेसका ६१, माओवादीका ४९, जसपाका ३२ जना सांसद् रहेका छन्। बहुमत पुर्‍याउन १३७ मत आवश्यक पर्छ।

यसरी ओलीमाथि जित हात पार्न माधवसँग यो अर्को शक्तिशाली अस्त्र भएको र प्रहार गरिए ओली सरकार ढल्ने लगभग पक्का रहेको बिश्लेषकहरुको दाबी छ ।

 


Last Updated on: April 24th, 2021 at 7:24 pm
१६७ पटक हेरिएको

तपाईको प्रतिक्रिया