आइतबार ०६ आषाढ २०७८

काठमाडौं

गत फागुन २१ गते सरकारसँग ३ बुँदे सहमति गर्दै शान्तीपूर्ण राजनीतिमा आएको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मुलुकमा नयाँ राजनीतिक प्रणालीको आवश्यकता रहेको बताएका छन् ।

एक सञ्चारमाध्यमसँग कुराकानी गर्दै विप्लवले यसका लागि जनमत संग्रह गर्नुपर्ने बताएका छन् । उनले आफू देशको नेतृत्व लिन तयार रहेको बताएका छन् ।

सरकारको नेतृत्व लिएर मुलुकको विकास र समृद्धिको आफ्नो एजेण्डा कार्यान्वयन गराउन नै आफूहरु राजनीतिक संघर्षमा होमिएको उनको भनाइ छ । ‘हामी त देशको नेतृत्व लिन चाहन्छौँ नि, त्यही चाहेर त हामीहरु विद्रोह गरिरहेका छौँ’, महासचिव विप्लवले भने ।

नयाँ खालको सरकार, नयाँ राजनीतिक प्रणाली आवश्यक रहेको जोड दिँदै उनले यसका लागि जनमत संग्रह वा चुनावमा जानुपर्ने बताए ।

सत्ता परिवर्तन वा आफ्नो सरकारको आयू लम्ब्याउन हुने निर्वाचनको औचित्य नरहने भन्दै उनले अहिले राजनीतिक वृत्तमा भनिएजस्तो निर्वाचन मुलुकका लागि आवश्यक नरहेको बताए ।

तर, महासचिव विप्लवले आफूहरु पनि जनमतबाट अघि बढ्न चाहेको बताए ।

‘हाम्रो सोचाइमा त के छ भने नेपालमा एउटा नयाँ खालको सरकार आवश्यक छ । नेपालमा नयाँ राजनीतिक प्रणाली आवश्यक छ । त्यसको लागि ठिक छ, हामी जान्छौँ चुनावमा ।

हामीले भनेका पनि छौँ, जनमतमा जाउँ न, कुन व्यवस्था ठिक भन्ने चुुनाव वा जनमत संग्रह होस्, हामी जान तयार छौं ।’ उनले भने ।

 


Last Updated on: April 23rd, 2021 at 8:26 pm
१२८ पटक हेरिएको

तपाईको प्रतिक्रिया